
ललितपुर - विश्व दिगो यातायात दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
यातायातले मानिसबीचको सम्पर्क विस्तार, व्यापार, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेले पनि यस क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण बढ्ने चुनौती रहेको छ । आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासको लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले मानिस तथा वस्तुको आवागमनका लागि आवश्यक सेवा र पूर्वाधार उपलब्ध गराउनुका साथै गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुर्याउँछ ।
दिगो यातायातको अवधारणाले सबैका लागि पहुँच, सडक सुरक्षा, वातावरणीय तथा जलवायुसम्बन्धी असर न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ ।
राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ को प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको छ ।
राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पु¥याउने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ ।



बिजनेस पाटी
















