जनकपुरधाम-अयोध्या रेल सञ्चालनले पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ७
|
102 views

ललितपुर - भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ । नेपाल र भारतका दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार तथा स्थानीय अर्थतन्त्रको विकासमा नयाँ सम्भावना सिर्जना हुने अपेक्षा गरिएको छ ।

नेपालका प्रधानमन्त्री वलेन्द्र शाहको भारत भ्रमणका क्रममा यही मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणामा जनाइएको छ ।

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पिआईबी), दिल्लीले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रूपमा नयाँ रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । उहाँले रेल सेवा सातामा एकपटक सञ्चालन हुने बताउनुभयो ।

      कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार निर्धारित समयतालिका अनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।

      रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ ।

      उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ । निमन्त्रणाअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाउने कार्यक्रम रहेको कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।

      होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताउनुभयो । रामनगरीका रूपमा परिचित अयोध्यालाई माता सीतासँग सम्बन्धित जनकपुरधामसँग जोड्दा रामायण सर्किटको प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

      उक्त रेल सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक तथा व्यवसायी लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने अपेक्षा गर्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube