नेपालगञ्ज विमानस्थल द्रुत गतिमा काम हुँदै

नेपालगञ्ज २८ पुस।

नेपालगञ्ज विमानस्थललाई सुविधासम्पन्न हुने गरी स्तरोन्नति गर्न तयार पारिएको गुरुयोजनाअनुसार पहिलो चरणको काममा तीव्रता भइरहेको छ ।
विमानस्थलको गुरुयोजनाअनुसार हाल आएर विमानस्थलको एप्रोन (पार्किङ) र धावनमार्ग विस्तारको कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

यात्रुको चाप दिनदिनै बढ्दै गएकाले विमानस्थलको विस्तारमा विशेष ध्यान दिइएको जनाउँदै उनले एप्रोन र धावनमार्ग सानो भएकाले विमान पार्किङ र उडानमा सचेतना अपनाउनुपर्ने बाध्यता रहेकाले दुवै कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

पछिल्लो समयमा आएर उडानमा वृद्धि हुँदा आउने जाने विमानको पनि सङ्ख्या बढ्दै गएकाले एप्रोन विस्तार अनिवार्य भएकोले ३२० मिटर लामो र ६० मिटर चौडा एप्रोनको निर्माण अन्तिम चरणमा पुगेको ठाकुरले बताए । २८ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो एप्रोनको निर्माण कार्य आगामी चैत मसान्तमा पूरा हुनेसमेत उनले जानकारी दिए।

यसैगरी अर्को अति आवश्यक कार्य धावनमार्ग विस्तारको काम भर्खरै सुरु गरिएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख ठाकुरले पश्चिमतर्फ २०० मिटर धावनमार्ग विस्तारको काम अगाडि बढेको बताए । उनले अहिले एक हजार ५०५ मिटर धावनमार्ग रहेकाले हाल उडान भर्दै आएका ठूला विमानलाई उडान भर्न अझै सहज बनाउने उदेश्यले दुई सय मिटर थप गरेर धावनमार्गलाई एक हजार ७०५ मिटरको बनाइने जानकारी दिए ।

आठ करोड रुपियाँको लागतमा भइरहेको धावनमार्ग विस्तारको काम एक वर्षभित्र सम्पन्न गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जले जनाएको छ ।
सो कार्यालयले धावनमार्ग विस्तार सबैभन्दा आवश्यक रहेको जनाउँदै त्यसका लागि घाँस र साना रुख बिरुवाहरू उखेल्ने काम सुरु गरिसकिएको जनाएको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया