बुढीगण्डकी जलविद्युत अन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा दिँदा विवाद

काठमाडौं, १५ पुस।

जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना अन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा दिँदा एक व्यक्तिको जग्गाको मुआब्जा अर्कै व्यक्तिलाई दिएको पाइएको छ।

साविकको सल्यानटार गाउँ विकास समितिका जीवन गिरिको जग्गाको मुआब्जा सोही ठाउँमा कृष्ण, शिव, गुरु र राम उप्रेतीको नाममा गएपछि विवाद उत्पन्न भएको हो ।

डुबानमा पर्ने जग्गाको सूची गोरखापत्रमा निकाल्दा जीवनको गिरिको जग्गाको कित्ता नम्बर ३ (क) १४२ नम्बर उल्लेख गरिएको थिएन । गिरिले डुबानमा पर्ने आफ्नो अन्य जग्गाको मुआब्जा बुझिसक्दा कित्ता नम्बर १ सय ४२ नम्बरको जग्गाको मुआब्जा छुटेपछि खोजबिन गर्दै जाँदा मुआब्जा रकम नै उप्रेती परिवारको नाममा गएको भेटिएको जीवनका छोरा भोज गिरिले बताएको छ ।

यसरी गयो अर्कोको नाममा

जीवन गिरिको कित्ता नम्बर १४२ मा १ रोपनी १४ आना जग्गा रहेको छ । तर उप्रेती परिवारले आफ्नो बाबुको जग्गाबाट अंशवण्डा गरी जग्गा कित्ताकाट गरेर लिने बेलामा मालपोत कार्यलय धादिङको लापरवाहीको कारण ३४२ नम्बरको जग्गा कित्ताकाट गर्नुपर्नेमा जीवन गिरिकै १ सय ४२ नम्बर कित्ताको जग्गा कित्ताकाट गरिदिएपछि गिरिको जग्गा उप्रेती दाजुभाइको नाममा पुगेको हो ।

मालपोतको रेकर्डमा हेर्दा १ सय ४२ नम्बरको जग्गा जीवन गिरिकै नाममा देखिएको छ भने त्यही जग्गालाई कित्ताकाट गरेर ६२२, ६२३, ६२४ र ६२५ नम्बर कित्तामा गएको देखिएको छ ।

पछि बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने भएपछि आयोजनालाई सोही लालपूर्जा उप्रेती परिवारले बुझाएको र उनीहरुकै नाममा जग्गा देखिएपछि बुढीगण्डकी आयोजनाले पनि मुआब्जा उप्रेती दाजुभाइकै नाममा हालिदिएको हो।

आफ्नो १४२ नम्बर कित्ताको मुआब्जा छुटेको भनेर खोजबिन गर्दै जाँदा अरुले नै मुआब्जा बुझिसकेको फेला परेको जीवनका छोरा भोज गिरिले बताए ।

उनले भने, ‘मालपोत कार्यालयको सवैखाले रेकर्डमा हेर्दा जग्गा हाम्रो हो भन्ने प्रमाण छ, तर मुआब्जा लिने बेलामा चाहि उप्रेती परिवारले बुझिसकेछन् ।’

उक्त जग्गाको मुआब्जा करिब १० लाख ५० हजार रुपैयाँ आउने भोजले बताए। मालपोत कार्यलय धादिङले भने जग्गा कित्ताकाट गर्ने बेलामा प्राविधिक कारणबस गल्ती भएको देखिएको र त्यसलाई सच्याइसकिएको बताएको छ ।

उप्रेती दाजुभाइको नाममा पुगेको १ सय ४२ नम्बर कित्ताको जग्गा जीवन गिरिकै रहेकाले बुढीगण्डकी आयोजनालाई पत्र लेखेर जानकारी गराइसकिएको मालपोत कार्यलय धादिङका प्रमुख पुरुषोत्तम भण्डारी बताए ।

उनले भने, ‘२०४० सालदेखिकै कागजपत्र हेर्दा १ सय ४२ कित्ता नम्बरको जग्गा जीवन गिरिकै देखिन आयो, पहिले भएको गल्ती सच्याएर हामीले बुढीगण्डकी आयोजनालाई पत्र लेखेर मुआब्जा जीवन गिरिलाई नै दिन अनुरोध गरिसकेका छौं।’

उप्रेती परिवारको जग्गाको पनि मुआब्जा दिनुपर्ने अवस्थाको भए उनीहरुलाई पनि मुआब्जा दिन र १ सय ४२ नम्बर कित्ताको जग्गाको मुआब्जा जीवन गिरिलाई नै उपलब्ध गराउन पत्र पठाइएको भण्डारीले बताए ।

अरुको जग्गाको मुआब्जा समेत आफूहरुले बुझिसकेका उप्रेती परिवारले जीवन गिरिको जग्गाको मुआब्जा फिर्ता दिन भने आनाकानी गरिरहेका छन् । अन्नपुर्ण पोष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया