सानो सहयोगले बारावासीलाई ठूलो राहत

–तीर्थ भट्टराई

रतनपुरी, बारा पुस १४

बारा जिल्लाको हरैया, करैया र सिहर्वा गाउँका स्थानीयवासी जिल्लाको चुरे क्षेत्रबाट निजगढ भन्दा पश्चिमबाट उत्तर दक्षिण बग्ने पसाहा खोलामा वर्षेनी आउने बाढीबाट असाध्यै पीडित थिए ।

विसं २०६२ मा तत्कालिन हरैया गाविस–६, करैया–१, सिहर्वा–५ स्थित उनीहरुका घर तथा खेतबारीमा पसाहा खोलाको ठूलो बाढी पस्यो । बाढीले घरमा नोक्सान गर्नुका साथै लगाएको अन्नबाली सबै बगायो, जमीनमा पूरै नदीको बालुवा भरियो । उनीहरुका खेतबारी अब काम नलाग्ने र उब्जनीहीन बन्न पुगे । यसबाट गाउँवासीका दुःखका दिन शुरु भए ।

उनीहरुले तत्कालीन गाविस तथा जिविसलाई गुहारे । थोरै रकम त गाविसले उठाएका हुन् तर त्यसले केही लागेन । कुनै गाविसले त दिन्छु भनेको रकम पनि दिएनन् । यसले गर्दा नदी नियन्त्रण गर्ने काम हुनसकेन । स्थानीयवासी घरबारविहीन भएर बसाइँ सर्नुपर्ने स्थिति आयो ।

तत्कालीन जिविसले सो पसाहा खोला तत्कालीन रतनपुरी गाविस अर्थात हालको निजगढ–११, रतनपुरीबाट पूर्वी किनार भत्काएर जङ्गल हुँदै करीब २० किमी दक्षिणमा पर्ने ती गाउँ (हाल कोहल्वी गाउँपालिका, जीतपुर–सिमरा नगरपालिका र करैयामाई गाउँपालिका) पसेको समस्या त पत्ता लगायो, तर पर्याप्त सहयोग गर्न भने सकेन ।

विसं २०६५ मा पनि खोलाको बाढी पूर्वी किनार भत्काएर जङ्गल हुँदै सिधँै गाउँ पसेको थियो । सो बाढी हरैयामा पसेर ढङ्ंगा बालुवाले पुरेर खेतलाई बगर बनायो भने पुल पनि भत्कायो । बाढीले गर्दा करैया–८ को एउटा विद्यालय श्री नेपाल राष्ट्रिय प्राविलाई पनि सार्नु प¥यो ।

यसैबीच, जिल्लावासी लालबहादुर कुर्मी जिल्ला भू–संरक्षण कार्यालय प्रमुख भएर आएपछि यसमा केही गर्न सकिन्छ कि भनी जिल्ला भू–संरक्षण कार्यालयका प्राविधिक राजनारायण शाह समेतको प्रयासमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मा पहल गर्नुभयो । युएनडिपीले यसमा सहयोग गर्ने चासो देखायो, त्यसपछि मात्र पसाहा खोला नियन्त्रणको काम प्रभावकारी ढङ्गले अघि बढ्यो । यसलाई पछि प्राविधिक अनिल सिन्हाले पनि हेर्नुभएको थियो ।

युएनडिपी र भूसंरक्षण कार्यालयको पहलमा स्थानीयवासी टङ्कप्रसाद सुवेदीको अध्यक्षतामा एक नौ सदस्यीय उपभोक्ता समिति गठन भएर युएनडिपीको सहयोगबाटै तारजाली उपलब्ध गराउने तथा जैविक तटबन्ध बनाउने काम शुरु भयो । स्थानीयवासीले ३ महीनासम्म किनारा भत्किएको ठाउँ जङ्गलमै बसी अहोरात्र खटेर बाँसको टाटी बनाइ माटो भरेर तटबन्ध बनाए । यसरी तटबन्ध बनाएपछि भने हरैया, करैया र सिहर्वावासीले सुखको सास फेर्न पाए । अहिले भने सो सहयोगले उनीहरुका खेतबारी फेरि हराभरा भएका छन् भने बालीनाली पूर्ववत हुन थालेको छ ।

विसं २०६५ को बाढीबाट एक हजार २०० सय घरधुरीको जमीन र बाली नष्ट भएको जानकारी दिनुहुन्छ जीतपुर सिमरा नगरपालिका–१७, रामनगरका स्थानीयवासी लीलाबहादुर तामाङ । उहाँले युएनडिपीको सहयोग र स्थानीय जनताको श्रमदानले नै हाल पुनः बाढीको डर नभएको र बालीनाली यथावत हुन थालेको बताउनुभयो ।

ठूलो बाढीमा खोलाले रुखै बगाएर ल्याउथ्यो र यहाँको जङ्गलमा पानी पसेर डुवान गर्दा जङ्गलै सखाप हुने अवस्थामा जिल्ला भूसंरक्षण कार्यालय र युएनडिपीको सहयोगले वन पनि जोगियो बाढीको असर पनि कम भयो भन्नुहुन्छ निजगढ–११, रतनपुरीका वडाध्यक्ष प्रेमबहादुर रुम्बा । राष्ट्रपति चुरे संरक्षण विकास समितिबाट खासै काम नभएको स्थितिमा केयर नेपालले पनि वडामा भू–संरक्षणका लागि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । केयर नेपालले रु आठ लाख ५० हजारको तारजाली उपलब्ध गराएको र २०७४ मा जिल्ला भू–संरक्षण कार्यालयले पनि रु चार लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।

हाम्रो समस्या हेर्न कसैले चासो नदेखाएको र जिल्लाका पत्रकार पनि यहाँ नआउने गरेको उहाँले गुनासो गर्नुभयो । फेरि एक ठाउँमा बाध फुट्नसक्ने खतरा देखिएकाले यसलाई अझै बलियो बनाउने प्रयास हुनुपर्ने उहाँले बताउनुभयो ।

कोहल्वी–८ का महिला सदस्य राधाकुमारी नेपालले जिविसले समस्या पहिचान गरेपछि पनि गाविसले काम गर्न नसक्दा युएनडिपी र भू–संरक्षण कार्यालयबाट सहयोग पाएपछि अहिले स्थिति राम्रो भएको बताउनुभयो । युएनडिपीका वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसी यहाँ आएपछि २०६८ मा तटबन्ध निर्माणको काम शुरु भई २०७२ मा सम्पन्न भएको र हाल ठूलो राहत भएको उहाँले बताउनुभयो । युएनडिपीले ठूलो धर्म ग¥यो, अरु सम्बन्धित निकायको पनि ध्यान जाओस् उहाँले भन्नुभयो ।

उहाँले यसमा युएनडिपी, भू–संरक्षण कार्यालय तथा स्थानीय जनताको जनश्रमदान गरी रु ७० लाखभन्दा बढीको काम भएको बताउनुभयो । नदी नियन्त्रण पश्चात ती गाउँमा यथावत् रुपमा धान, गहुँ, मकै, परवर, काउली, बन्दा आदिको खेती हुन थालेको उहाँ बताउनुहुन्छ ।

रासससँग कुरा गर्दै युएनडिपीका वरिष्ठ कार्यक्रम अधिकृत दीपक केसीले सो आयोजना युएनडिपी, जिल्ला भू–संरक्षण कार्यालय र समुदायको त्रिपक्षीय सहकार्यमा भएको र त्यसका लागि करीब रु ३५ लाख सहयोग गरिएको बताउनुभयो । यो काम उपल्लो र तल्लो तटीय क्षेत्रका प्रभावितको सहकार्यमा सम्पन्न भएको पनि उहाँले बताउनुभयो । स्थानीयवासीले श्रमदान गर्नुभएको, जस्मा स्थानीयवासी एक वृद्व हाल निधन भइसक्नुभएका टङ्कप्रसाद सुवेदीको पनि ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।

त्रिपक्षीय सहयोगको यो एक राम्रो नमूना हो र अन्यत्र पनि यसको अनुशरण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आयोजना स्थलमा अहिले बाढी नियन्त्रण भई जङ्गलक्षेत्र पनि बढ्न थालेको बताउनुभयो । यसमा उच्च प्रविधि नभइ जैविक इञ्जिनीयरिङको प्रयोग भएको र कारण एक ठाउँमा र असर अर्कै ठाउँमा भएकाले दुवैतर्फको प्रयासमा यो काम गरिएको उहाँले बताउनुभयो ।

अनुगमनमा रहनुभएका युएनडिपीका सञ्चार विश्लेषक ऋचा रञ्जीतकारले युएनडिपीको सहयोगमा भएको कामबाट जङ्गल संरक्षण र स्थानीय जनता बाढीबाट सुरक्षित भएको पाइएको बताउनुभयो । पसाहा खोला नियन्त्रण गर्ने यस आयोजनाबाट जनताका समस्या पहिचान गरी समाधानको सही प्रयास भएमा सानै सहयोगले पनि ठूलो काम हुनसक्ने स्थानीय जनतामा विश्वास पलाएको देखिन्छ ।(रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया