होस्टल एसोसिएसनले पायो नयाँ नेतृत्व

बिजनेसपाटी  ९ भदौ ।

नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समुह निर्वाचित भएको छ । काठमाडौँमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समुहको पुरै टिम निर्वा्चित भएको हो ।
एसोसिएसनको नयाँ नेतृत्वको लागे पाठक समुहको प्रतिद्वन्दीका रुपमा गोबिन्द गिरि चुनावी मैदानमा थिए । निवर्तमान कार्यसमितिमा महासचिव रहेका गिरि जम्मा ३ मतको मात्र अन्तरले पराजित भएका हुन् । एसोसिएसन निर्वाचन समितिका संयोजक सुबास कोइरालाका अनुसार कुल ६९२ जना मतदाता मध्ये ५४१ जनाले मतदान गरेका थिए । जसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए ।
त्यसैगरी, वरिष्ट उपाध्यक्षमा अरुण पराजुली मतका साथ बिजयी भएका छन् । उनले केदार चम्लागाईलाई ४९ मत अन्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सर्वा्धिक मत प्राप्त गर्दै ७३ मतान्तरका साथ निवर्तमान कोषध्यक्ष उर्मिला भट्टराई (बराल) ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् ।महासचिवमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष रुपाली गुरागाईं (पौडेल)ले ६४ मतान्तरका साथ निवर्तमान ललितपुर जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् ।
सचिवमा डण्डी प्रसाद गौतमले भिम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् । एसोसिएसनको बिधान बमोजिमा निर्वा्चित ६ जना केन्द्रीय सदस्यहरुमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरि प्रसाद भेटवाल रहेका छन् ।

नेपाल होस्टल एसोसिएसनमा नेपालभरका लगभग ७ सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौँ, ललितपुर, काभ्रे, चितवन र मोरंग जिल्ला समितिहरु समेत बिस्तार भईसकेको छ । सातौं अधिवेशनले केन्द्रिय कार्य समितिमा जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेगरी बिधान संसोधन प्रस्ताब समेत पास गरेको छ । नव निर्वा्चित अध्यक्ष पाठकका अनुसार होस्टल व्यवसायमा देखिएका विविध समस्याहरुको पहिचान र निराकरण अबको कार्यसमितिको प्राथमिक काम हुनेछ । त्यो बाहेक एसोसिएसनको संस्थागत गरिमा र व्यवसायिक मर्यादालाई केन्द्रमा राखेर आगामी दिनका लागी कार्यक्रमहरु तय गरिने पनि उनले जानकारी दिए । आजको आवश्यकता, र सामुहिक नेतृत्वको परिपाटीलाई संस्थागत गर्दै व्यवसायिको हित रक्षार्थ आफ्नो समूह संधै सकृय रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
अब भक्ति पाठक समुहले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुराहरु पुरा गर्नुपर्ने होस्टल व्यवसायी तथा निर्वाचन समितिका संयोजक सुबास कोइरालाको जोड छ । पाठक समुहले आफ्नो चुनावी घोषणा पत्रमा सेवाग्राही (बिधार्थी) भर्ना फारम, बिदा फारम, आचार संहिता फ्लेक्स बोर्ड निशुल्क रुपमा वितरण गर्ने, होस्टलमा कामदारको सहज आपूर्ति व्यवस्था गर्ने र व्यवसायी, कामदार र सेवाग्राहीको समेत सामुहिक बीमाको व्यवस्था गर्ने कुरा उल्लेख गरेको थियो ।
त्यसैगरी होस्टल संचालन मापदण्डको संसोधन, जिल्ला समितिहरुलाई सहज रुपमा केन्द्रसंगको समन्वयको व्यवस्था लगायतका बिषयहरु पनि प्रतिवद्धता पत्रमा उल्लेख छन् । व्यवसायीहरुलाई सुलभ स्वास्थ्य सुबिधा लगायत धेरै तालिम र प्रशिक्षणहरुको आयोजना गर्ने लगायतका आकर्षक नाराका कारण पनि पाठक समुहले बिजय प्राप्त गरेको हुनाले त्यो पुरा गर्नुपर्ने कुरामा व्यवसायी दिनेश महर्जनले जोड दिएका छन् ।
बि. स. २०६९ सालमा स्थापना भएको एसोसिएसनको यो पाँचौं केन्द्रीय नेतृत्व हो । निवर्तमान अध्यक्ष सहित १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया