एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागे:पौडेल

काठमाडौँ १७ पौष

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेमा जनतालाई भारत देख्ने गलत सोच रहेको बताएका छन्। प्रेस युनियन, तनहुँ शाखाले आइतबार बिहान दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए।

‘संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ’, पौडेलले भने। मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गरे। देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया