ऐतिहासिक वीरेन्द्र फूलबारी संरक्षणको पर्खाइमा
काठमाडौँ ३० कार्तिक
पाल्पा -सदरमुकाम तानसेनको टुँडिखेल नजिकै रहेको ऐतिहासिक वीरेन्द्र फूलबारीको अवस्था नाजुक बन्दै गएको छ।तानसेनको विकासमा थप टेवा पुर्याउने उद्देश्यले झन्डै ३६ वर्ष अगाडि निर्मित सो फूलबारी यतिखेर स्याहार संरक्षणको पर्खाइमा छ। तानसेन नगरपालिका प्राङ्गणको टुँडिखेल मैदान, बसपार्क नजिकै रहेको वीरेन्द्र फूलबारीले जो कोहीलाई मोहित पारेको थियो।
अहिले यसको स्याहारसुसारमा कसैले चासो नदिएका कारण नाम मात्रको फूलबारी बन्न पुगेको छ। विसं २०३७ मा नगरका तत्कालीन प्रधानपञ्च विन्दुप्रसाद नेपालीले आफ्नै रेखदेखमा निर्माण गरेको फूलबारी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सोही साल फागुन ७ गते उद्घाटन गरेका थिए।यहाँ ३० प्रजातिका फूल रोपिएको थियो। फूलबारीभित्र तत्कालीन राजा वीरेन्द्रको सालिक समेत निर्माण गरिएको छ। स्याहार संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिँदा फूलबारीको सौन्दर्य र महत्व हराउँदै गएको छ। पर्यटन विकासका लागि सहयोग पुग्ने फूलबारीको लथालिङ्ग भताभुङ्ग अवस्था देखेर तानसेन भित्रिएका पर्यटकले चिन्ता व्यक्त गरेको स्थानीयवासी कमल ढकाल बताउँछन्।
यसलाई व्यवस्थित गर्न सकिएकामा तानसेन आउने पर्यटकको रोजाइ वीरेन्द्र फूलबारी बन्नेछ। फूलबारी नै छेक्ने गरी दिनहुँ सवारी साधन पार्किङले यसको सौन्दर्य नै खस्किँदै गएको छ।पहिले पहिले यहाँ दिनमा दुई पटक सिँचाइ गर्ने, संरक्षण गर्ने र हेरचाह गर्ने छुट्टै व्यक्ति थिए। पछि पछि यसको स्याहारमा कमैले चासो देखाउँदै गएपछि मगमगाएर सुगन्ध आउने फूलबारी अहिले ओझेलमा परेको छ। फूलबारीको व्यवस्थापन गर्न सके प्रशस्त आम्दानी लिन सकिन्छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया