कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा

काठमाडाैं २० साउन २०८१

स्व वक्तावारीदेवी गोयल कल्याणकारी कोषले कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा शनिवार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त स्वास्थ्य शिविर कृष्णनगरमा रहेको लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा बिहान ९ः३० बजेदेखि शुरू भएको थियो । जहाँ कृष्णनगरलगायत आसपासबाट आएका करिब ४५० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा जेनरल मेडिसिन, महिलासम्बन्धी रोग, हाडजोर्नी तथा नसारोग, बालरोग, नाक, कान, घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजारोग, ईसीजी, छाला तथा यौनरोगलगायत समस्याको निःशुल्क जाँच गरिएको थियो । साथै निःशुल्क औषधि वितरणसमेत गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए ।

यस शिविरमा उपस्थित भएर नाम लेखाएका तथा जाँच गराएका सेवाग्राहीका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले भदौ १७ गतेसम्म विशेष छुट तथा सहुलियत दरमा उपचारसमेत गर्ने उनले बताए ।

यसअघिसमेत निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शैक्षिक सामग्री वितरण, बृक्षारोपणलगायत विभिन्न सामाजिक कार्य गर्दै आइरहेको स्व बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया