कमरेडमा आमूल पविर्तन आएको छ
धनबहादुर मगर
-गाउँबाट चप्पल लगाएर
शहर छिरेको कमरेडले
अब कान सुन्दैन
सिंहदरवारको तिलस्मीले
बम र बारुदले जस्तै
कमरेडको कानको जाली
फुटेको छ ।
युद्ध मोर्चामा दुस्मनसँग
बम र वारुदको पर्वाह नगरी
सँगै लडेका कमरेडहरू
अब चिन्दैनन् ।
सासु–ससुरा, साला–साली,
भाई–बुहारी, छोरी–ज्वाई,
छोरा–छोरी, भतिजा–भतिजी
भन्दा अरु काही चिन्दैन ।
कमरेडको सम्वोधन
अति प्यारो, दिनरातको
लाल सलाम कमरेड
कमरेडको सम्वोधित शब्द
कमरेडलाई अब मन पर्दैन ।
सिंहदरवारको तिलस्मीले
कमरेड हाइपोथेसिस् बनेको छ ।
कमरेडले कमरेडलाई चिन्दैन
कमरेडले कमरेडलाई
शीरदेखि टुप्पीसम्म
हेरेर व्यवहार गर्छ ।
सुकिला, मुकिला कमरेडहरू
कमरेडको कार्यकक्षमा
सिधै प्रवेश गर्छ,
अनुमति लिनु पर्दैन ।
कमरेडलाई भेट्नु पर्दा
चिट लेखाउनु पर्छ ।
कमरेडलाई भेट्न
कमरेड जस्तैः केही कमरेडहरू
क्युमा बस्छ
कमरेडलाई कुर्दा–कुर्दै
समयले नेटो काट्छ
कमरेड भोली आउनुहोस् तपाई
कमरेडको, कमरेडबाट
आदेश आउँछ ।
किनकी कमरेडको नेम प्लेटमा
अति व्यस्त लेखिएको छ ।
कमरेडले युद्ध मोर्चाको नियम
त्यहाँ पनि पालना गर्छ
त्यसैले कमरेडले कमरेडलाई
भेट्नै सक्दैन
कमरेडको कानको जाली फुटे पछि
कान सुन्दैन ।
सुने पनि नसुने झैं गर्छ
कमरेडमा सम्वेदना हराएको छ
उहाँ कसैको दुःख, पीडा
सुन्न सक्दैन
त्यसैले कमरेडमा
आमूल परिवर्तन आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया