२०८२ फाल्गुन ५ | Feb 17, 2026

कर्णालीको वार्षिक खर्च प्रगति ६० प्रतिशत

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २६
|
357 views

बिजनेसपाटी २६ असार २०८१

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।

प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिनुभयो । जसमा चालुतर्फ रु नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८ दशमलव ३६) र पुँजीगततर्फ रु दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उहाँले बताउनुभयो ।

“गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो”, उहाँले भन्नुभयो, “चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आवमा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको छ ।” नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत थियो । चालु आवमा ५४ दशमलव ६७ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा रु १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया