कसले चलाउँछ अबको संसार ?

रिसव गौतम

पछिल्ला केही वर्षयता संसारभर नै बहस हुन थालेको छ कि अबको संसार कसले चलाउँछ ? अबको आर्थिक महाशक्ति को होला- अमेरिका वा चीन ? हुनपनि यसखालको बहसले अन्तर्राष्ट्रिय स्वरुप किन ग्रहण नगरोस् ? किनकि, अहिले नै आर्थिकदेखि धेरै कुरामा सर्वशक्तिमान अमेरिकालाई चीनले टक्कर दिइरहेको छ । कुनै समय पोर्चुगल, रसिया, स्पेनिश, फ्रेन्च, बेलायत जस्ता देशहरूले संसारको नेतृत्व गरिकोमा अमेरिका विगत करिव एक सय बर्षयता संसारभरको नेताको रुपमा विश्वमा हाबी छ ।

खासगरी दोश्रो विश्वयुद्धबाट (सन् १९३९-१९४५) जापान, जर्मनीको पराजय र बेलायतको अधोगतिसँगै उदाएको अमेरिका सन् १९९१ मा तात्कालिन सोभियत संघ पतन भएपछि त विश्वको एकछत्र महाशक्तिको रुपमा रहँदै आएको थियो । अमेरिकाले सन् १९४५ पछि विश्वका देशहरूलाई ब्यवस्थित शासन गर्न विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), संयुक्त राष्ट्र संघ र विश्व व्यापार संघ (डब्लुटीओ ) जस्ता संस्थाहरू बनाउन सफल रह्यो । जसमा संसारका धेरैजसो देश अटाउन थालेपछि उसको पावर बढेर गएको हो । सन् १९४५ यता अमेरिकाले संसारका देशहरूमा प्रभुत्वसँगै दुश्मनी पनि बढाएको छ । यसबीच उसले भनेको नमान्ने ६० भन्दा बढी देशहरूले अमेरिकी प्रतिबन्धको सास्ती भोगिरहेका छन् । ती देशमा अमेरिकाले कुनै न कुनै हिसाबको बबण्डर मच्चाइरहेको देखिन्छ ।

तर यसबीच सन् १९७८ बाट क्रमशः खुल्ला बजार अर्थतन्त्रको अभ्यास थालेको र ११ डिसेम्बर २००१ मा विश्वको ब्यापार संगठन (डब्लुटीओ) मा आबद्धता जनाएको चीनले अहिले ब्यापारमा तरक्की गरिसकेको छ । सन् १९९० यता करिव दोहोरो अंकको लगातारको आर्थिक वृद्धि गरिरहेको चीनको जीडिपीको आकार विकिपिडियाको अनुसार सन् २०२४ सम्म आइपुग्दा १८.५३ ट्रिलियन डलर पुगिसकेको छ । यद्यपि अमेरिकाको अर्थतन्त्र अहिले पनि २८ ट्रिलियन डलर माथि छ । तर रोचक के छ भने जिडीपी माथि हुँदा पनि चिनियाँ पर्चेजिङ पावर अमेरिकीहरूको भन्दा माथि पुगिसकेको छ ।

चीनको पछिल्लो लगातारको आर्थिक उन्नति नियालिरहेका विश्वका घघडान रिर्सच संस्था तथा विद्वानहरूले अमेरिकालाई उछिन्ने अडकलबाजी गरिरहेका छन् । विश्वका धेरै अर्थशास्त्रीहरूले सन् २०४० सम्ममा यही रुपमा चीनले आर्थिक प्रगति गरिरहे अमेरिकालाई उछिन्ने बताइरहेका छन् । लगानी र वित्तीय सेवाप्रदायकको रुपमा विश्वप्रशिद्ध अमेरिकी संस्था ‘गोल्डम्यान सर्च’ले गरेको एउटा वाणीमा विश्वास गर्ने हो भने सन् २०७५ मा पुग्दा अहिलेका बढी जनसंख्या भएका देशहरू क्रमशः धनी हुने सुचीमा पर्नेछन् । गोल्डम्यानका अनुसार सन् ०७५ मा चाइनाको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर हुनेछ । जनसंख्यामा धनी देशहरू अबको विश्वमा आर्थिक रुपले सुपरपावर बन्नेछन् भनेर गोल्डम्यान सर्च जस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने विश्वकै नामुद कम्पनीको दाबी छ ।

खासगरी चीनले पछिल्ला केही दशकयता आर्थिक प्रगति गरिरहँदा, एसियाली देशहरूमा पनि जस्तो जापान, भारत, पाकिस्तान, इन्डोनेशिया आदि पनि आर्थिक रुपमा अगाडि आइरहँदा र युरोप एकखालको गतिमा अघि बढिरहँदा विश्वमा बहुधुव्र खडा भएको छ, जसको नेतृत्व एसियातिरबाट चीनले गर्न थालेको छ भने रुसको अर्को वैभव छ । अमेरिकको त अहिले पनि विश्वको सबै देशको अगुवा र सर्वशक्तिमान आफै हो भन्ने दाबी छँदैछ । विश्वका देशहरूलाई त्यहिअनुसार उसले ब्यवहार देखाइरहेको छ ।

तर, मुलतः आर्थिक रुपमा शक्तिशाली देश नै संसारको मियो हुने कुरा नकार्न सकिँदैन, जसको लागि चीनको संघर्ष कायम देखिन्छ । चिनियाँ राष्ट्रपती सि जिनपिङले अनवरत मेहनत गरिरहेका छन् । संसारको सुपरपावर हुने र अरु सबै देशलाई पछुवा बनाउने अभिप्रायले नै चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ जस्तो अति महत्वकाङ्क्षी (जुन संसारको ९९ भन्दा बढी देशलाई स्थलमार्गले जोड्ने परियोजना हो, जसमा पश्चिमा देशको ऋणबाट बञ्चित देशहरूमा लगानी रहनेछ) परियोजना अघिसारेको हो । तथापि, अमेरिका र भारत जस्ता देशहरू चीनको सो परियोजना असफल बनाउन हात धोएरै लागेकाले ‘बेल्ट एण्ड रोड’ परियोजना सोचेजस्तो अघि बढ्न सकेको छैन ।

तरपनि अमेरिकाको नेतृत्वमा सुरु भएको विश्वव्यापीकरण र खुल्ला बजार अर्थनीतिको लाभ पछिल्लो दशक चीन, भारत, ब्राजिल, इन्डोनेशिया, दक्षिण कोरिया जस्ता उदयीमान अर्थतन्त्रले लिइरहेको छ । फलस्वरुप विश्वव्यापीकरणले पछि परेको महसूस अमेरिका र युरोप जस्ता पश्चिमा देशका नागरिकमा हुन थालेको बुझिन्छ । अमेरिका बहुध्रुवीय विश्वबाट डराउन थालेको छ । तथापि एकध्रुवीय आदेशका लागि उसको प्रयास जारी देखिन्छ । त्यसैले पनि अब संसार कसले चलाउँछ वा चलाउनेछ भन्ने चासो र अडकलबाजी हुन थालेको छ ।

अहिले नै संसारका धेरै देशहरू चीनसँग आश्रित हुन थालेका छन् । खासगरी उसको बढ्दो औद्योगिक तथा व्यापारिक उत्पादनहरू र आधुनिक विकासले धेरैलाई चकित पारिरहेको छ । संसारमा खपत हुने २८ प्रतिशत भन्दा ज्यादा औद्योगिक उत्पादन चीनले नै एक्लै गरिरहेको छ । १२० भन्दा बढी देशहरू चीनसँग अत्यन्त अन्तरङ्ग ब्यापार गरिरहेका छन् भने संसारभर उसको ब्यापारमा प्रभुत्व बढरहेको छ । अफ्रिकाका धेरै देशहरूमा र एसियामा पनि चीनले सहयोग र सद्भावनाहरू बढाइरहेको छ । चीनले ४० करोड जनतालाई गरिवीबाट मुक्ति दिइसकेको छ । पछिल्लो दशक विश्वमा अन्त नभएको चामत्कारिक विकास चीनले गरिरहेको छ ।

अमेरिकाले प्रमुख शत्रुको रुपमा लिएको रुससँग पनि चीनले सम्बन्ध बढाइरहेको छ । रुसको छिमेकी भारतसँग टे«ड ब्यालेन्स बढिरहँदा चीनको सम्बन्ध झन् प्रगाढ भएको देख्न सकिन्छ । आर्थिक कुटनीतिलाई सार्वोपरि बनाएको चीनको ब्यापारको अकार अमेरिकासँग नै बढिरहँदा त्यो अमेरिकालाई घाँडो भइरहेको छ । तर पछिल्ला कही वर्षयता सेवाक्षेत्रको विस्तारको कारण अमेरिकी अर्थतन्त्र पनि उकालो नै लागिरहेको छ । औद्योगिक उत्पादनमा जेहाद छोडेको चीनले अहिले अमेरिकाको सेवाक्षेत्रको अर्थतन्त्रसँग प्रतिस्पर्धा गरिरहेको छ । पछिल्लो दशक अमेरिकामा फेसबुक, ट्वीटर, विविध सफ्टवेयर लगायत प्रविधि क्षेत्रका सेवामुलक उद्योगहरूबाट डलरमा अर्बपतिहरू जन्माइरहेको छ ।

अझ अहिले संसारभर रहस्यको पर्दाभित्र रहेको, त्रासदीको वायु फैलिएको र नकारात्मक एवं सकारात्मक दुवैखालको बहसको तरङ्ग ल्याएको आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) मा अमेरिकाले गरेको प्रगति रोचक छ । आउँदा वर्ष र दशकहरूमा प्रविधि र एआईको विस्फोटक उदयले हाम्रो जीवन, समाज र जन्ममृत्युलाई समेत प्रभाव पार्ने प्रविधि-क्रान्ति हुनसक्ने संकेत देखिइसकेको छ । जसको नेतृत्व अमेरिकाले नै गरेको देखिन्छ । हालसालै चीनले पनि अमेरिकाको प्राविधि रणनीति र चलाखीलाई ट्याकल गर्न एआईमा लगानी बढाएको समाचार छन् । कतिसम्म भने सन् २०५० सम्ममा विश्वका अधिकांश जस्तो अर्थतन्त्रहरू एआईमा आधारित प्रणालीहरूद्वारा निर्देशित र सञ्चालित हुनेसम्मका भविष्यवाणीहरू छन् । खासगरी महाशक्ति राष्ट्रहरूले वित्तिय ब्यवस्थापनका लागि आफ्नो एआईमा आधारित प्रणालीहरू प्रयोग गर्नेछन् र एआइको डाटा विश्लेषण शक्तिलाई विश्वास गरिनेछ । एआइले थप सही जोखिम मुल्याङ्कन, धोकाधडी पत्ता लगाउन र त्यसलाई रोक्न सक्षम हुने आँकलन छ । यसरी औद्योगिक उत्पादन र चामत्कारिक विकासमा जसरी चीनले प्रगति गरिरहेको छ । त्यसरी नै प्रविधि क्षेत्रमा अमेरिकाले क्रान्ति ल्याइरहेको छ । जसको पछिल्लो बलियो उदाहरण एआईको विस्फोटक उदय हो । संसारका यी आधुनिक प्रविधिको फाइदा अरु देशहरूमा सुनिश्चित गर्न नसकिए शक्तिसम्पन्न देशहरू मात्र लाभग्राही हुने जोखिम छ ।

जस्तो चीन र अमेरिकाको शक्ति जाँच्न सन् २०१९ देखि सुरु भएको कोभिड १९ को प्रकोपलाई नियाल्न सकिन्छ । जबकि सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवान प्रान्तमा पहिलोपटक देखिएको कोरोना महामारी ६-८ महिनामै विश्वको कुना-कुनासम्म फैलियो । स्थल र हवाइ मार्गहरूको भुमण्डलीकरण, विश्वका देशहरूको एकअर्कामा निर्भरता र पर्यटन गतिविधिको बढ्दो गतिले तीव्ररूपमा विश्वभर नै कोरोना फैलियो । त्यसरी फैलिएको कोरोना नियन्त्रणमा चीनको स्वास्थ्य प्रणाली सबैभन्दा प्रभावकारी देखियो । तथापि, चीनले लामो समय लकडाउन गरेर अर्थतन्त्रमा क्षति ब्यहोऱ्यो भन्ने पनि प्रश्न आए । तर कोरोनाविरुद्धको खोप तथा मेडिकल उपकरण निर्माण तथा त्यसको बिक्रीमार्फत उसले अर्थतन्त्रमा टेवा दियो । तर, अमेरिकामा डोनाल्ड प्रशासनले भने कोरोना केही होइन भनेर ख्याल-ख्याल गर्दा त्यसबाट करिव ३ लाखले ज्यान गुमाए । यता चीनले आफ्नै देशबाट सुरु भएको कोरोना महामारीमा पनि ३-४ हजार भन्दा बढीको ज्यान असुरक्षित पारेन । खोप नै उत्पादन गर्नमा पनि अमेरिका धेरै पछि पऱ्यो ।

स्वास्थ्य प्रणालीको मात्र कुरा होइन, पछिल्लो दशक चीनले गरेको चामत्कारिक विकास विश्वका अरु देशका लागि नौलो छन् । फलस्वरुप चीनको आधुनिक विकासलाई नियाल्न वर्षेनी १० करोड बढी मानिस उसका पर्यटक हुने गरेका छन् । संसारलाई आश्चर्यमा पार्ने चीनको दी ग्रेट वाल, संसारकै ठुलो २२,५०० मेगावाटको थ्री ग्रर्जेज जलविधद्युत आयोजना, संघाइ टावर, महादीपमा बनाइएका लम्बेतान राजमार्ग, अत्याधुनिक लोकप्रिय एयरपोर्टहरू, मरुभुमिमा नयाँ शहरहरू, चीनको सबैभन्दा लामो राजमार्ग टनेल किलिङ टनेल, विश्वको सबैभन्दा लामो समुन्द्री पुल, विश्वको सबैभन्दा लामो ग्यास पाइपलाइन जस्ता अनेकन क्षेत्रमा चीनले तरक्की गरिरहेको छ । जुन अमेरिका वा सारा विश्वका देशहरूले हेर्दाहेर्दै (धेरैजसो विगत २ दशकमै) सिर्जना गरिएका हुन् । जसले चीनको उदाउँदो शक्ति र कठोर मिहिनतको प्रमाण दर्शाउँछ ।

हुन त अमेरिकाले वा बाँकी विश्वले पनि भौतिक पुर्वाधारमा धेरै पहिले नै कयापलट गरेकै हुन्, तर त्यसलाई माथ गर्ने र विश्व समुदायलाई नै असम्भव लाग्ने खालका चामत्कारिक चिनियाँ विकास, उनीहरूको अनुशासन र मिहीनेतको धरहरा यति विशाल देखिन्छ कि अबको विश्वको नेतृत्व नै केही दशकमै उनीहरूकै हातमा पुग्छन् । किनकि, उनीहरू जनसंख्या, स्रोत साधन, विकास निर्माण, सैन्यशक्ति, खोज अनुसन्धान हर हिसाबले निकै उचाइमा पुगेका छन् । उनीहरूको विकासलाई नियाल्न नै विश्वका करोडौँ मानिसहरू चीनतिर लागिरहेका छन् । चीनमा विश्वको आँखा गइरहेको र चीनले विश्वलाई आकर्षण गरिरहेको छ । विश्वमा शान्त आर्थिक कुटनीतिको जगमा राष्ट्रपति सी जिङपिनले चीनलाई पहिलो मुलुक बनाउन लागरिहेका छन् । अमेरिका भने चीनसँग शान्त हिसाबको प्रतिस्पर्धा भन्दा चीनलाई कसरी हुन्छ लडाउने चालबाजीमा रुमलिएको छ । संसारको जुनसुकै कुनामा सैन्यशक्ति पठाउन र घुसाउन सक्ने अमेरिका आज पनि सुरक्षा व्यवस्थामा भने विश्वको एउटा तागत हो । विश्वको सबैभन्दा ठुलो हतियार निर्यातक देश अमेरिकाले संसारका देशहरूमा करिव ९ सय बढी सैन्य अखडा खडा गरेको छ । रक्षाक्षेत्रमा ठुलो पैमानामा बजेट छुट्याउँदै आएको अमेरिकालाई त्यसमा पनि टक्कर दिन चीन अग्रसर देखिन्छ ।

हरेक वर्ष सैन्य बजेट बढोत्तरी गर्दै बहुआयामिक विकास, शान्त आर्थिक कुटनीति अँगालेको चीनले विश्वमा बढाउँदै लगेको प्रभाव हेर्दा ‘संसारको अबको नेतृत्व उसैको हातमा त पुग्दैछैन ?’ भन्ने प्रश्नको विश्वब्यापीकरण भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया