कांग्रेसमा उस्तै छ घर झगडा, देउवा तनावमा

काठमाडौँ –१० असार

नेपाली काँग्रेसभित्रको मनोनयनको विवाद क्रमशः भुसको आगो जस्तै गरी विवादको घेरामा फसेको छ । सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा अन्य केन्द्रीय सदस्य समेत मनोनयन गर्न नसकेको भन्दै नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

यस्तै वरिष्ठ नेताको सवालमा समेत विवाद जारी रहेको छ । देउवा आफूसँग पराजित रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा मनोनय गर्ने भित्री चाहना राख्छन् तर खुमबहादुर खड्का भने कुलबहादुर गुरुडलाई वरिष्ठ नेता बनाउन पटक पटक दबाव दिदै आएका छन् ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ– महाधिवेशनको समयमा खुमबहादुरको योजनामा कुलबहादुरलाई वरिष्ठ नेता बनाउने सहमति अनुसार नै प्रस्तावक बनाइएको थियो । यस्तै खड्काले पुष्पा भुसाललाई सहमहामन्त्री बनाउन दबाब दिदै आएका छन् । भुसाल खड्काको खास मान्छे हुन् ।

यस्तै शंकर भण्डारीलाई पनि महत्वपूर्ण पद दिनुपर्ने प्रस्ताव अगाडि सारिएको छ । यस्तै उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनयन गर्ने वा अर्को कोही कसैलाई अगाडि बढाउने भन्ने पूर्ण निष्कर्षमा पुगिसकेका छैनन् ।

देउवा सकेसम्म मनोनयनको विषयलाई पर सार्न चाहन्छन् । देउवा गोपालमान श्रेष्ठलाई उपसभापति बनाउन चाहन्छन् । प्रजातान्त्रिक काग्रेसको कार्यवहाक सभापति समेत रहेका गोपालमानलाई उपसभापति बनाउँदा आफ्नो समूह बलियो हुने देउवाको बुझाइ छ । तर देउवालाई निधि छाड्दा भने राम्रो नहुने स्थिती रहेको छ । विमलेन्द्रलाई छाड्दा मधेसमा आफ्नो गुट कमजोर हुने अवस्थामा पनि राम्ररी बुझेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया