काठमाडौंमा पूर्वराजा शाहको स्वागतमा सडकमा निस्कँदैछ र्यालीः सुरक्षाकर्मीको हाइअलर्ट

काठमाडौं, फागुन २५, २०८१ । लामो समय पोखराको बसाइपछि आज काठमाडौं फर्किँदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह स्वागतमा राजावादीहरुले सडक नै अस्तव्यवस्त हुने संकेत दिएका छन् । शाहको निकट रहेका र निकट रहन खोज्नेहरुले काठमाडौंमा भव्य स्वागतको तयारी गरेका छन् । राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी थालेका छन् ।

पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने भनिएको छ ।

यसै सन्दर्भलाई मध्यनगर गर्दै काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको देख्न सकिन्छ । भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गर्दै सुरक्षाका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

शाहको स्वागतार्थ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले आ–आफ्ना कार्यकर्ताहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर सहित स्वागतमा उपस्थितिको निर्देशन दिएका छन् ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज अन्य विभिन्न शाह निकटतम दल तथा व्यक्ति विशेषको स्वागत कार्यक्रममा उपस्थिति देखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया