कालीगण्डकीमा जलयात्रा गर्न आन्तरिक पर्यटकको सङ्ख्या बढे

काठमाडौँ १९ मंसिर

पर्वत-कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।  कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो।  स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्। पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य नै बन्ने गरेको छ।  पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन्।  वर्षात्‌को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमर सेवा बन्द थियो। पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सञ्चालन सुरु गरिएको हो। पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोरअन्तर्गतको हर्मिचौर-पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको सङ्ख्या घटेको भए पनि जलयात्राको आनन्द लिनका लागि बाह्य जिल्लाका पर्यटकको सङ्ख्या भने थपिँदै गएको छ।

दैनिकजसो दुईदेखि सातवटासम्म विभिन्न जिल्लाका विद्यार्थी टोली भ्रमण गर्न आउने गरेका छन्। स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो। स्थानीय व्यवसायी प्रेम अर्यालले भने– “गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ।” उनका अनुसार स्टिमर सञ्चालन भएपछि गाडीमा प्रतिकिलो तीन पर्ने ढुवानी भाडा एकमा झरेको छ।  स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवम् एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै सात किमी दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ।  दुई ठूला पहाडको खोँचबाट सुस्त गतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताउनुभयो । स्टिमरले आन्तरिक पर्यटकमात्र नभई दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ।  विश्वकै ठूलो र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन्। शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रिलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्दछ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया