गार्डियन माइक्रो लाइफको आईपीओ निष्काशन सुरु
काठमाडौं २१ पुस २०८१ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ मार्फत निष्काशन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर (१८ करोड ४५ लाख रुपैयाँ बराबर) निष्काशन गरेको छ। साथै, ३ प्रतिशत (६७ हजार ५०० कित्ता) शेयर कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) शेयर म्युचुअल फण्डका लागि छुट्याएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता (२ करोड २५ लाख रुपैयाँ बराबर) शेयर यसअघि नै निष्काशन गरिसकिएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति पुस २४ गतेसम्म रहेको छ।
आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट आवेदन दिन सकिन्छ। साथै, सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर मार्फत पनि सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। यसका साथै, केयर रेटिङ्ग नेपालले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई “केयर एनपी डबल बी माइनस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया