गोमा कविता र युगकवि सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
यो संसारमा मान्छे जन्मेपछि मलाई दिन मात्र चाहिन्छ ,रात चाहिदैन किन भन्न सकिएन ? जिउँनका लागि सुख सयल मात्र चाहिन्छ , दुःख मन पर्दैन भनी किन भन्न सकिएन ? जन्मेपछि म त मृत्युवरण गर्दिन भनी किन भन्न सकिएन ? एक बार जूनी न हो, म त केहि नखाई बाँच्न चाहन्छु भनी किन भन्न सकिएन ? थाहा छैन यो त प्रकृति माथिको प्रश्न हो । प्रकृतिले हामीलाई यसको जवाफ किन दिन चाहन्दैन ? अनौठो छ, यो संसारको रीत यसरी नै चलिरहेको छ । खोला बगेर कहाँ कहाँ पुगिन्छ तर आखीर गन्तव्य त समुद्र न हो । समुद्रमा पुगेपछि समुद्र कहाँ गएर टुंगिने हो । हामीलाई के थाहा, यो त समुद्रले भोग्ने कटु अनुभव हो । त्यसैले यो मान्छेको जीवनमा दिन मात्र होइन रात पनि त्यतिकै आवश्यक रहेछ । सुख मात्र होइन दुःख पनि त्यतिकै आवश्यक रहेछ । यौटा मान्छे बनेर जीवनमा सारतत्व पाउनका लागि धेरै आँधीबेहरीसँग खेल्नु पर्ने रहेछ । धेरै दिन र रातलाई पचाउनु पर्ने रहेछ । धेरै भोक र प्यासमा जीवन बिताउनु पर्ने रहेछ । अनि मात्र थाहा हुन्छ जीवन के हो ? जीवन कसरी गुजार्न सकिन्छ ? यो त चाहेर पनि भन्न नसकिने कुरो हो । भन्दा पनि अरुले बुझ्न नसक्ने रहस्यमय मन्त्र हो । यो त फेद र टुपो छुट्याउन नसकेर मान्छेहरू बीच बाटोमै अल्झेर अलमल हुने कुरो हो । त्यसैले मान्छेको जीवन न हो । हामीले यो आँखाले देखेको कुरा अनुभव गर्न सकिन्छ । यो मनले भोगेर पनि थाहा पाउन सकिन्छ । यो शरीरले स्पर्श गरेर पनि अनुभव गर्न सकिन्छ ।
भनिन्छ, मान्छेको जीवनमा किन हो कुन्नी सुख थोरै दुःख धेरै हुने गरिन्छ । यो त छैठीमा लेख्ने भाग्यको फल रहेछ । यो त परिश्रमले भाग्यलाई पनि बनाउने रहेछ । निरन्तर बग्ने समय जस्तो कस्तो कस्तो जीवनमा सधै नमीठो स्वादहरू लिएर कतै तितो छ । कतै पिरो छ । कतै अमिलो छ । कतै टर्रो छ । मन नपर्ने रुखो स्वभावले होला अनि आनी, बानी र व्यवहारले पनि मान्छे–मान्छे बीच कटु अनुभव गर्ने गरिन्छ । यो कटु अनुभवलाई एकछिन बिर्सिनका लागि आकाशमा उड्ने ती पंक्षीहरूको बोली र वचनलाई स्वीकार गरेर उनीहरूसँगै रमाउन उनीहरूकै बोली टिपेर पुतलीहरूसँग खेल्दै युगकवि सिद्धिचरण श्रेष्ठले आज गोमालाई अनुरोध गर्दैछन् । जाऔं गोमा, हामी यहाँ भन्दा धेरै टाढा जहाँ पहाड र पर्वत छ, त्यहि गएर पीरलाई भुलेर हामी दुई जना मात्र घरजम गरेर माया प्रीतिका कुराहरू गर्न सकौं । जहाँ मन आकाश भैंm फिँजाएर कसैको रीस, राग र पीडाबाट टाढा भएर हामी दुई जना मात्र बस्न सकौं । त्यसैले जाऔं गोमा, जहाँ तिमी र म बाहेक अरु कोही हुन्न त्यही गएर बाँकी जीवन बिताउँ हामी । किनकि मलाई असाध्यै डर लागिरहेको छ । कतै तिमीलाई केहि हुने हो की ? जहाँ न डर छ न पीडा छ । जे जे पाइन्छ हामी दुबै जनाले खाएर बाँच्न सकिन्छ । त्यसैले गोमा, हामी त्यही गएर किन नबसौं ? जहाँ सुन्दर छ । शान्त छ । विशाल छ । प्रेम छ । तिमी म भित्र समाहित भएर मात्र हेर, मेरो मनको बाँझो खेतमा तिमीले घरबार चलाउँनका लागि जे पनि रोप्न सकिन्छ । जहाँ पीर लाग्दैन त्यहाँ गएर बस्न यो मनले किन हो कुन्नी उतैतिर गएर बस्न मन लाग्छ ।
जगको कटु अनुभव फेर्दै
बोल चराको पनि टिप्दै
पुतलीहरूका संग खेल्दै
जाऔं गोमा ! त्यस शैलमहाँ
पीर कुनै पनि उठ्दैन जहाँ ।
जीवन बिताउँनका लागि हामीलाई महल नै चाहिदैन, यौटा सानो छाप्रो नै काफि छ । त्यसैले आज युगकवि सिद्धिचरण श्रेष्ठले गोमालाई भन्दैछन् गोमा, हामी जहाँ जान्दै छौं त्यहाँ जीवन निर्वाह गर्नका लागि यौटा सानो छाप्रो होस् । वरिपरि चारैतिर रुखै रुखले घेरिएको होस् । फलपूmलका रुखहरू मात्र होइन प्रकृतिले वरदान दिएको त्यो मगमग वास्ना आउने हजारौं पूmलहरू फुलिरहोस् । ऋतुहरूसँगै रुखहरूले पनि हामी जस्तै लुगाहरू फेरिरहोस् । हाम्रो सानो सुखी परिवारलाई हेरेर जहाँ मानव सभ्यताको इतिहास बनोस् । त्यसैले जाऔं गोमा, जहाँ हाम्रो आफ्नै विशाल देश हुनेछ । कतैबाट पनि पीर नउठ्ने हाम्रो आफ्नै ठाउँ हुनेछ । मनमा सधै शान्ति पलाउनका लागि हामी त्यहि गएर बसौं । आखीर यो जिन्दगी बिताउनु न हो । जिन्दगी बिताउन हामीलाई अरु केही चाहिदैन । बरु अन्न र पानी मात्र भईदिए पुग्छ । चराचुरुङ्गीहरू जस्तै स्वतन्त्र भएर आ–आफ्नो बाटो जान पाए पनि पुग्छ । जहाँ पीर छैन त्यहाँ मन हलुको भएर आफुले खोजेको पाउन सकिन्छ । आपूmले सोचेको बनाउन सकिन्छ । यौटा जूनीको लागि मात्र होइन जूनीजूनीसम्म बाँच्नका लागि मनले जे भन्छ त्यही काम गरेर यो जीवनबाट समाधि लिन सकिन्छ । त्यसैले गोमा, हाम्रो छाप्रोमा पानी चुहेर के भो ? तर हाम्रो मन चुहिनु भएन । थोपा थोपा पानी बगेर के भो ? आखिर धरतीलाई नै सिन्चित गर्छ भने हामीलाई के बेफइदा भो ? हामी त दुई दिनका लागि यो धरतीमा आएका प्राणी हौं । कर्कलाको पानी जस्तो आज छ भोलि नहुन सक्छ । त्यसैले हामीलाई त्यही ठाउँ ठीक छ । जहाँ प्रकृतिसँग हामी रमाउन सक्छौं । हामी दुबैको माया र प्रीतिलाई कसैले पनि तगारो बनाउन सक्दैनौ ।
यौटा सानो छाप्रो होओस्
वरिपरि रुखको घेरा होओस्
फल होस्, पूmल होस्, पात झारोस्
जाऔं गोमा ! त्यहाँ देशमहाँ
पीर कुनै पनि उठ्दैन जहाँ ।
यो भवसागरको पीडाले होला आज युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो मन हलुको पार्नका लागि छुट्टै यौटा संसार खोजिरहेको छ । जहाँ आफ्नो छाप्रो नजिकै यौटा झरना बगिरहोस् । झरझर गर्दै झरनाले पनि आफ्नै तालमा गीत गाईरहोस् । आफ्नै अस्तित्वको लागि आफ्ना बिचारहरू संप्रेषण गरिरहोस् । मोति जस्तो बहुमूल्य रत्न बनेर अनगीन्ति नित्यहरू फुलिरहोस् । कहिल्यै नबिराईकन अनवरत रूपमा अविनाशी बनेर सदा सदाका लागि हाँसिरहोस् । त्यसैले गोमा, त्यही गएर उज्यालो घाममा किन नबसौं ? जहाँ पीर छैन, शान्ति मात्र छ त्यही नबसी हामी अनेत्र कहाँ जान सक्छौं ? तिमीले सोचेर हेर पहाडको त्यो खोच खोचबाट झरेको झरना यो जूनीमा मात्र होइन जूनीजूनीसम्म कहिल्यै मर्दैन । यो त हाम्रो जीउने प्राण हो । अन्न–पानीको यो शरीरमा हाम्रै घर नजिकै झरना बग्छ भने तिमीलाई तिर्खा लागेको बेला त्यो मीठो पानी पिएर तृप्तीका लागि अरु के चाहियो र ? त्यसैले गोमा, हाम्रो शरीरलाई स्वस्थ बनाउनु छ भने पंक्षीहरूको बोली मात्र होइन रुखका ती पातहरूले पनि हामीलाई संगित सुनाई रहेको हुन्छ । झरझर गरी झरनाले पनि गुन गुनाएको बेला हाम्रो आत्माले के खोज्छ होला ? गोमा, हामी त्यही गएर बस्नु पर्छ । तिमीले ढक नमानी राजी हुनै पर्छ । किनकि त्यहाँ उज्यालो हुने बित्तिकै हाम्रो मुहारमा घाम लाग्छ । जहाँ पीरको थोपा छैन । त्यही नगई अन्त कहाँ हामी बस्न सकिन्छ ? गोमा, भोलि हामी सबेरै उठेर जाऔं, जहाँ जिन्दगीमा राम्रो बाहेक नराम्रो कहिल्यै हुनै सक्दैन । जहाँ प्रकृतिले तिमीलाई माया गर्छ, त्यहाँ हामीले ईश्वरलाई पाउँन धेरै बेर लाग्दैन । त्यसैले हामी सँगै जानु पर्छ । तिमी दुई पाइला अगाडि बढ । म एक पाइला अगाडि बढ्छु । कतै तिमी बाटोमा लड्यौ भने पनि मैले तिमीलाई बोकेर हिड्न सकौं ।
नगीचै झरना एक बगोस्
झरझर गर्दै भाव भरोस्
शत शत मोती नित्य फुलोस्
जाऔं गोमा ! त्यस घाममहाँ
पीर कुनै पनि उठदैन जहाँ ।
यो कुरो ध्रुवसत्य हो । धूवाँले आँखामा आँसु आउने गरिन्छ । तर यो आँसु धूवाँको होइन, मुटु जलेर आएको आँसु हो । निभाउन खोज्दा खोज्दै पनि कतै पानी नपाएर जलेर भष्म हुन लागेको संकेत हो । हजारौं पीडाहरूले ब्याकूल भएर गुम्सिएको वाफ हो । मन दुखे पछि, कसैले थिचोमिचो गरेपछि, यो अन्नपानीको शरीर न हो , कतै अन्नपानी नपाए पछि, भोक भोकै बसेर दिन–रात बिताउनु परे पछि, यो आँखामा आँसु आउनु पीडाको संकेत हो । त्यसैले होला आज सिद्धिचरण श्रेष्ठको मनमा कहिल्यै निको नहुने घाऊले ऊ रोइरहेको छ । यो जगमा धेरै रुने मध्ये आज उसको नाम पनि परेको छ ।
यो जिन्दगी रुनु र रुवाउनु नै कतै हाम्रो चिर प्रथा त होइन ? हामीले चाहेर वा नचाहेर आँखामा आँसु आउनु कतै हाम्रो समाजको नियती त होइन ? यो त हामीले सहजै अनुमान गर्न सक्ने कुरो हो । रुनु र रुवाउनु यो जगको प्रथालाई हामीले कहिलेसम्म समालेर राख्नु पर्ने हो ? समस्यै समस्याले मान्छेलाई किन सधैं रुवाउनु पर्ने हो ? यो त भवसागरको कथा हो । त्यो कथाभित्र युगकवि सिद्धिचरण श्रेष्ठको कथा छ । मनभित्र धेरै पीडा पालेर होला आज युगकविले थुप्रै थुप्रै करुण कथाहरू रच्दैछ । जाऔं गोमा, नजली जाऔं जहाँ सुन्दर र शान्तको देश छ । जहाँ आनन्दै आनन्दको ठाउँ छ । जहाँ सुखै सुखको ओइरो छ । जहाँ स्वर्गको अनुभूति पाइन्छ ? त्यहाँ हामी दुई जना पुगेर यौटा नवजीवन बिताउने रहर छ । तिम्रो र मेरो जीवनमा थुप्रैं थुप्रै अनुभूतिहरू बोकेर आउदो पीढिंलाई यौटा सन्देश दिने अभिलाषा छ । त्यसैले गोमा, यो दुःखको सागरमा हामी किन बाँचौ ? जहाँ सुखको सागर छ । हामी त्यही गएर किन नबसौं ? जहाँ मान्छेलाई पीर हुँदैन । जहाँ मान्छेलाई समस्या हुँदैन । जहाँ मान्छेलाई घाऊ हुँदैन । जहाँ मान्छेलाई बन्धन हुँदैन । जहाँ मान्छेले आँसु पाउँदैन । त्यहाँ हामीहरू किन नजाऔं ? गोमा, त्यो सुन्दर मन लोभ्याउने बागमा बसेर यो छातीभित्रिको हजारौ करुण कथाहरू किन नलेखौं ? जगको त्यो रुने चीर प्रथालाई हामी दुई जना मिली भताभूङ्ग किन नपारौं ? दुःख, ब्यथा अनि पीडाहरूलाई सकेसम्म हामीले किन कम नगरौं ? बाटो भरी काँढै काँढा छ भने कसरी हिँड्नु पर्छ हामीले किन नसिकाऔं ? त्यसैले सृष्टिको त्यो प्रान्त काललाई सगुनको रूपमा लिई भावि पुस्तालाई किन सुख नदेऔं ? कर्मले मात्र यो जीवनलाई उभो पार्छ भन्ने कुरा अल्छीहरूलाई हामीले किन नबुझाऔं ?
रुनु रुनु जगको चिर प्रथा
हो मेरो पनि यो छ ब्यथा
रच्छु यसैको करुण कथा
नजली जाऔं त्यस देशमहाँ
गोमा ! केवल आनन्द त्यहाँ ।
युगकवि सिद्धिचरण श्रेष्ठ आपूmलाई पीर पर्छ भनी डर मानिरहेको छ । त्यसैले जहाँ पीर हुँदैन त्यही घरजम गर्नका लागि ऊ सोच्दैछ । किनकि यो सानो मुटुमा कति पीडा देऔं ? मनभरि कति ब्यथा देऔं ? आँखाभरी कति आँसु देऔं ? खुट्टाभरी कति पाइला देऔं ?त्यसैले गोमा, हामीलाई त्यही ठाउँ राम्रो छ । किनकि त्यहाँ खोला छ । खोलाले छोडेका बलौटे बगर छ । ढुङ्गै ढुङ्गाको खानी छ । लहरा र रुखपातले ढाकिएको ठाउँ छ । लतगृह जस्तै यो मनलाई पीर नउठ्ने ठाउँ छ । त्यसैले गोमा जहाँ रवि एकाविहानै भेट्न पाइन्छ । शशिसँग कुरा गर्न सकिन्छ । तारासँग बस्न सकिन्छ । मेघको त्यो अथाह दगुरलाई हेर्दै यो बिचित्र संसारको कुरा बुझ्न सकिन्छ । गोमा, हामीलाई त्यही ठाउँमा बस्न पाएँ हुन्थ्यो । जहाँ माथि माथि मनमा पहर छ । अहोरात्रको आठौं भाग जस्तो समयले टुक्रा टुक्रा पारेर तह तह बनाएको छ । त्यही ठाउँमा बसेर मैले सबैलाई लठ्ठ पार्ने कविता लेख्नु छ । नशालु जस्तो सबैलाई एकचित्त पार्ने कविताको सृजना गर्नु छ । पीर नउठ्ने थुप्रै कविताहरू जन्माउनु छ । दुःख र व्यथाहरू सम्झेर थुप्रै ज्ञानहरू बाँड्नु छ । रीस, राग र हेला पन्छाउने आगोका कविताहरू लेख्नु छ । मदिरै मदिराले भरिएको पिउँन नसकिने कविताको जन्म दिनु छ । त्यसैले गोमा, मलाई त्यही ठाउँ मन पर्छ । जहाँ पेटमा जलन भएको बेला शीतल होस् । जहाँ आपूmलाई मन परेको कविताको जन्म होस् । जहाँ मान्छेले मुक्ति पाउनका लागि हजारौं हजार प्रयास गरोस् । जहाँ ईश्वरको वास छ त्यहाँ हामी दुई जना पनि गएर आनन्दले बस्न पाओस् ।
ढुङ्गा, खोला, कुञ्ज, बगर
रवि, शशि, तारा, मेघ दगुर
माथि माथि मनमा पहर पहर
पार्छु म गोमा ! मदिरा कविता
पीर कुनै पनि उठ्दैन त्यता ।
वसन्त प्रकृतिको सजिवनी हो । सजिवनीले रुख र बिरुवाहरूलाई छोए पछि जताततै हरियाली भएर आनन्दै आनन्दले हाम्रो मुख अगाडि ढपक्क फुल्नेछ । हरियाली चौरमा बसेर आ–आफ्नै शैलीबाट हजारौं पूmलहरू सुखले हँसिलो मुहारले हाँस्दै छ । आ–आफ्नै स्वभावमा आ–आफ्नै भाषामा आ–आफ्नै रीतिरिवाजमा कञ्चन भएर सबैले आ–आफ्नो अस्तित्व जोगाई राखेको छ । न कसैले थिचोमिचो गर्ला भन्ने पीर छ । न कसैले हेला गर्ला भन्ने डर छ । निर्धक्क भएर ईश्वरीय नियम अनुसार सबैले सबैलाई सम्मान गरेर जीवन बाँच्दैछ । त्यसैले गोमा, जहाँ समानता छ त्यही हामीले जीवन बिताउनु पर्छ । जहाँ थिचोमिचो छैन त्यही हाम्रो जीवन चलाउनु पर्छ । जहाँ हेला हुँदैन त्यही बाँच्दा जीवन आनन्द हुन्छ । जहाँ सुख हुन्छ त्यही हाम्रो जीवन हुन्छ । त्यसैले गोमा, हामीलाई व्यथा होइन यौटा सुन्दर जीवन चाहिएको छ । जहाँ पीर हुँदैन साँचै मान्छेको जीवनमा त्यहाँ स्वर्ग पाइन्छ । त्यसैले गोमा, तिमी पीर नगर । जहाँ हामी जान्छौं त्यहाँ कहिल्यै पनि पीर लिनु पर्दैन । मनमा सुख र शान्ति भए पछि आखीर भाग्य न हो परिश्रम त्यसै पलाउनु पर्छ ।
वसन्त आई हाम्रो मुख
ठान्छ सधैं पहिलो रुख
पूmल फुलाई हँसिलो सुख
जाऔं गोमा ! त्यस देशमहाँ
पीर कुनै पनि उठ्दैन जहाँ ।
व्यथा आपैm दुःखदायी कुरो हो । दुःखले मान्छेलाई मात्र होइन हरेक प्राणीहरूलाई पीडा बोध गराउँछ । मनमा भ्रान्ति भएर चाहिने नचाहिने कुराहरूको सृष्टि गर्दै मन लथालिङ्ग अनि भताभुङ्ग पारेर पीडाले मान्छेहरूलाई पागल बनाउन सक्छ । बाँच्दा बाँच्दै पनि जिउँदो मुर्दा बनाउन सक्छ । त्यसैले दुःखलाई समयमै मोचन नगर्ने हो भने हामीलाई मात्र होइन यो प्राणी जगतलाई नै गा¥हो हुने छ । यो मनलाई समयमा नै समालेर राख्न सकेन भने यहाँ ठूलो दुर्घटना हुने सम्भावना छ । त्यसैले हाम्रो इच्छा र आकांक्षाहरूलाई सकेसम्म आपूm जस्तै अनुकूल बनाएर राख्न सक्नु पर्दछ । होइन भने यो त आकाश भन्दा ठूलो भएर सोचेको भन्दा बढी दुःख दिन सक्छ । मान्छे पागल बनाएर बाटोमैं सुताउन सक्छ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको मनमा गा¥हो भएर होला दुःखका कुराहरू कतै बिसाएर सुखका क्षणहरू खोज्दै छ । गोमासँग सकेसम्म घरजम गर्ने उद्देश्यले छुट्टै संसार खोज्दैछ । जहाँ पीर छैन, केवल सुखै सुख मात्र छ । त्यहाँ दुई जनाको जिन्दगी बिताउने सल्लाह गर्दैछ । यौटा सानो छाप्रोको कल्पना गरी खोला नजिकै झरनालाई हेरी मनका कुराहरू लेख्ने अभिलाषा बोक्दै छ । आखीर समय न हो । समयले धेरै दुःख दिएपछि समयसँगै ऋण लिएर भए पनि केही क्षणको लागि सुख खोज्ने प्रयास गर्दैछ ।
प्रकासित मिति २०७८–४–१६
फेसबुकबाट तपाईको प्रतिक्रिया