चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध
बैतडी,२७ माघ
चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो । फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्तेफोनको नेटर्वक नभएको त्यहाँका बासिन्दाले बताए ।
यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटर्वक नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिनुभयो। दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताउनुभयो । अवरुद्ध फोन र इन्टरनेट सेवा आज अपरान्हसम्म सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । सिगास मेलौली लगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया