चलचित्र ‘अञ्जिला’को नेपाल रेड कार्पेट प्रिमियर

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू प्रकाश सुवेदी, टिकाराम यात्री, डब्बु क्षेत्री, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू, र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
चलचित्रमा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता देखाइएको छ । चलचित्र यसअघि हङ्कङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् । उनले भने “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो”, उनले भने, “चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज पनि हुनेछ ।”

चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बताए । “खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो । खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु”, अभिनेता राईले भने ।

कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । कप्तान सुब्बालाई काठमाडौँ ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको सङ्घर्ष कथानक चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।   निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए । “खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ । सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ”, उनले भने । फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बने । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको व्यापक प्रशंसा गरिएको छ । चलचित्र हलबाट निस्किँदै गर्दा प्राय: दर्शकहरू रोइरहेका देखिन्थे भने चलचित्र हेरेर कहिल्यै नरुनेहरूले समेत आफूलाई सम्हाल्न नसकेको बताए ।


आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, “हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौँ, एन्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।” पूर्व कप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३-४ पटक रोएको बताए । “एन्जिलाले यति धेरै सङ्घर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीहरूलाई ध्यान दिन सकेनौँ भन्ने कुराको आत्मग्लानि भएको छ,” एन्फाका पूर्व अध्यक्ष समेत रहेका थापाले भने, “हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।” थापाले पूर्व सशस्त्र प्रहरी उपरीक्षक तथा यस चलचित्रका निर्माता एवम् कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैँ माया गर्ने व्यक्तिको रूपमा व्याख्या गरे । पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिए । “यो चलचित्रमा जीवन त छँदैछ, यो चलचित्रलाई व्यावसायिक बनाउन निर्देशकले भरपुर मेहनत गर्नुभएको छ । मैले यो भन्दा पहिले भारतीय कलाकार आमिर खानको लगान हेरेको थिएँ । त्यो चलचित्रले मलाई एकाग्र भएर हेर्न बाध्य तुल्याएको थियो र आज अञ्जिला हेर्दा त्यही झझल्को आयो,” सुवेदीले भने । 


चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जनाइन् । “हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि सङ्घर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय चलचित्र मार्फत आएको छ । चलचित्र एकदमै सशक्त माध्यम हो । एन्जिलाको सङ्घर्षको कथा नपढेको नसुनेको होइन तर, चलचित्र मार्फत आउँदा यसरी मन छेडेर गएको छ की निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ,” अधिकारीले प्रतिक्रिया दिइन् ।
चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । उनले एन्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताए ।
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको जनाए । “मैले एन्जिलालाई ‘तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ’ भनेको थिएँ । म आफैले पनि हरेक पटक चलचित्र हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ,” चाम्सले भने । 
चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।  चलचित्रमा प्रसिद्ध गीतकार लोकराज अधिकारीले शिर्ष गीत बिषयगत गीत (थिम सङग) लेखेका छन् । जसमा स्वर बविना किराँतीको र संगीत हरि लम्सालको रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया