चीनमा फोरजी प्रयोगकर्ता ७३ करोड भन्दा बढी
पुस २५ पेचिङ (चीन) ।
सन् २०१६ को अन्त्यसम्ममा चीनमा फोरजी मोबाइल नेटवर्क प्रयोगकर्ताको सङ्ख्या ७३ करोड ४० लाख पुगेको छ । चौथो पुस्ताको मोबाइल नेटवर्क विस्तारका लागि अनुसन्धान र विकासलाई सबल बनाइएकाले प्रयोगकर्ताको सङ्ख्या बढेको त्यहाँको विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा सञ्चार विकास विभागका प्रमुख वेन कुले बताएका छन् । फोरजी मोबाइल नेटवर्क प्रयोगकर्ताको सङ्ख्या बढेसँगै चीनले सन् २०२० सम्ममा फाइभ जी मोबाइल नेटवर्कको सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।
सन् २०१६ को जुन महीनासम्ममा चीनमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या ७१ करोड रहेको चिनियाँ इण्टरनेटको नियामक निकाय चाइना इण्टरनेट नेटवर्क इन्फरमेशन सेण्टर (सीएन्एन्आईसी)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा भनिएको छ । यो चीनको कुल जनसङ्ख्याको ५१ दशमलव ७ प्रतिशत हो । इण्टरनेट प्रयोगकर्ताको विश्वव्यापी औसत सङ्ख्या भने ३ दशमलव १ प्रतिशत रहेको बताइन्छ । प्रतिवेदनअनुसार चीनमा करीब ९२ प्रतिशत मोबाइल इण्टरनेट सेवाग्राहीले ‘इन्ष्ट्याण्ट मेसेजिङ एप्स’ प्रयोग गर्छन् । यसैगरी ८० प्रतिशतले समाचार एप्स प्रयोग गर्ने गरेको देखिएको छ । चीनमा मोेबाइल एप्समा सर्च इञ्जिन, अनलाइन म्यूजिक/भिडियो र अनलाइन शपिङ पनि निकै लोकप्रिय रहेको बताइएको छ । रासस/पीटीआई
फेसबुकबाट तपाईको प्रतिक्रिया