चीनले १५ वर्षमै थप ५४ हजार किलोमिटर रेलमार्ग बनाउने

एजेन्सी

बेइजिङ,१४ फागुन

चीनले सन् २०३५ भित्र देशभरिको रेलमार्ग २ लाख किलोमिटर पुर्‍याउने योजना सार्वजनिक गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र चिनियाँ मन्त्रिपरिषद्ले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेको सन् २०३५ सम्म अर्थतन्त्रलाई दोब्बर बनाउने खाकामा उक्त कुरा उल्लेख गरिएको छ।

चीनमा अहिले हाइस्पिड रेल नेटवर्क ३८ हजार किलोमिटर छ। १५ वर्षमा त्यसलाई बढाएर  ७० हजार किलोमिटर बनाइने छ। त्यस्तै अहिलेसम्म चीनमा सबैखालका रेल नेटवर्कको लम्बाइ १ लाख ४६ हजार किलोमिटर रहेकोमा त्यसलाई बढाएर २ लाख किलोमिटर बनाइने छ।

रेलवेसँगै ४ लाख ६० हजार किलोमिटर सडक सञ्जाल र २५ हजार किलोमिटर इनल्याण्ड वाटरवे बनाउने योजना पनि चीनले सार्वजनिक गरेको छ। १५ वर्षमा चीनले थप १६२ वटा विमानस्थल बनाएर विमानस्थलको संख्या ४०० पुर्‍याउने लक्ष्य राखेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत नोभेम्बरमा सन् २०३५ सम्म चिनियाँ अर्थतन्त्र दोब्बर बनाउने कुरा पूर्ण रूपले सम्भव रहेको बताएका थिए।

कोरोनाभाइरसको महामारीपछि विश्वका अरू विकसित अर्थतन्त्रले लयमा फर्किन संघर्ष गरिरहेका बेला चिनियाँ अर्थतन्त्रमा भएको वृद्धिले उसको यो योजना सम्भव देखिएको अर्थशास्त्रीहरूले बताएका छन्।

केहीले त सन् २०२८ मै  चिनियाँ अर्थतन्त्रले अमेरिकालाई उछिनिसक्ने प्रक्षेपण गरेका छन्। अहिले अमेरिकाको अर्थतन्त्र २० ट्रिलियन  डलरको छ भने चिनियाँ अर्थतन्त्र झन्डै १५ ट्रिलियन डलरको छ।

अमेरिका र चीनबीच आर्थिक प्रतिष्पर्धा गहिरिँदै गएपछि वासिङ्टन र बेइजिङ दुबैको प्राथमिकता पूर्वाधारमा लगानी भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो महिनाको सुरूमा चीनले अमेरिकाको पूर्वाधारलाई पछि पार्न सक्ने भएकाले आफ्नो देशका महत्वपूर्ण पूर्वाधारहरूलाई अपग्रेड गर्नुपर्ने बताएका थिए।  उनले चीनको उच्च गतिको रेल र नवीकरणीय उर्जाबाट चल्ने सवारीतर्फको विकासलाई इंगित गरेका थिए।

चिनियाँ  सरकारको ब्लुप्रिन्टमा पारवहन रणनीतिमा इनोभेसनको खोजी गरिने उल्लेख छ। स्मार्ट र स्वचालित गाडीहरूको विकास गर्ने र चिनियाँ प्रविधिमा आधारित  नेभिगेसन सिस्टम बेइडोउलाई अझ परिस्कृत गर्दै लैजाने उसको योजना छ।

कोरोनाभाइरसको महामारीपछि चिनियाँ कम्युनिष्ट पार्टीको  नेतृत्वलाई देशभित्रको आर्थिक क्रियाकलाप निकै नै महत्वपूर्ण हुने रैछ भन्ने लागेर यातायातलाई प्राथमिकतामा राखी यस्तो ब्लुप्रिन्ट ल्याइएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ।

अहिले चीनले अर्थतन्त्रको वृद्धिका लागि आन्तरिक उत्पादन र खपतमा जोड दिइरहेको छ।

अब हरेक वर्ष चीनमा विभिन्न माध्यमबाट यात्रा गर्नेहरूको संख्या ३.२ प्रतिशत, सामानको ओसारपसार २ प्रतिशत र पोस्टल एक्प्रेस सर्भिस ६.३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।

चिनियाँ अधिकारीहरूले  ग्रामीण र सहरी क्षेत्र र विभिन्न सहरबीचको असमानताको खाडल पुर्नका लागि पनि यातायात प्रणालीलाई मजबुद् बनाउनु पर्नेमा जोड दिएका छन्।

यसबाहेक चिनियाँ सरकारले संसारका जुनसुकै सहरमा पनि तीन दिनभित्रै सामान पुर्‍याउन सक्ने गरी एक्प्रेस सिपिङ नेटवर्क बनाउने पनि बताएको छ।

बेल्ट एन्ड रोड इनिसिएटिभ्समार्फत् सम्बन्धित मुलुकहरूमा लगानी गरेर राष्ट्रिय सुरक्षासँग जोडिएका पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यासलगायत सामग्रीको आयात सुनिश्चिता गर्ने पनि बेइजिङको योजना छ।

‘अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल बनिरहेको छ,’ ब्लुप्रिन्टमा भनिएको छ,‘अस्थिरता र अनिश्चितता धेरै नै बढेको छ। संसार ठूलो परिवर्तनको चरणमा प्रवेश गरेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया