जयशंकर नेपाल आउँदा १० हजार मेगावाट विद्युत खरिद सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं १८ मंसिर,२०८०

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा विद्युत खरिदसहित महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

अहिलेसम्म मिति तय भइनसकेको नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउँदा पञ्चेश्वर परियोजना र १० हजार मेगावाट विद्युत खरिद/बिक्री सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

सोमबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण करिब तय भएको र उनी आउँदा महत्वपूर्ण सम्झौतामा हस्ताक्षरका लागि तयारी भइरहेको जानकारी दिएको हो ।

गत १७ देखि २० जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भएको थियो । यस्तै पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति समेत भ्रमणका क्रममा भएको थियो ।

प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका थिए ।

‘१० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं’, प्रधानमन्त्री मोदीले भनेका थिए । तर त्यसको ६ महिना बित्दा पनि कुनै प्रगति हुन सकेको छैन ।

यस्तै २०५२ सालमा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख भएपनि अहिलेसम्म हुन सकेको छैन । हरेकपटक हुने द्विपक्षीय भ्रमणका क्रममा यसको काम अघि बढ्ने चर्चा चले पनि चर्चामै सीमित छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण हुने बताए पनि कुन मितिमा उनी नेपाल आउँदै छन् भन्ने खुलाएनन् । by onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया