जवाफ देउ सरकार– नवराज बिकहरु प्रेममा कतिन्जेल सहिद हुनुपर्ने ?

काठमाण्डौ १८ जेठ, २०७७

रुकुम पश्चिम जाजरकोटमा केही ददिन अघि दलित माथी भएको नरसंहार विरुद्ध अहिले निकै नै आवाज उठिरहेका छन् । गत जेठ १० गते प्रमिकाले बोलाएपछि विवाहका लागि भनेर रुकुम पश्चिमबाट गएका जाजरकोट भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानियको आक्रमणमा परेका थिए । त्यसक्रममा ५ जनाको ज्यान गएको, एक जना बेपत्ता भएको र १२ जना घाइते भएको विषय नेपालको इतिहासमै कालो धब्बा बन्ने भएको छ । २१ औ शताब्दीको यो उदारबादी जमानमा नेपालमा भएको सो मानब कलंकित घट्नाले नेपालको मात्रै होइन् सिङगो विश्व जगतलाई नै झस्काएको छ । तरपनि सो विषयमा उचित छानबीन हुन सकिरहेको छैन । पिडितले न्याय पाएका छैनन् । आखिर कहिलेसम्म नेपाली समाजमा दलितहरुले जातिय छुवाछुत जस्ता भेदभावको कलंक सहिरहनु पर्ने ? के यसको अन्त्य गर्ने बेला भएन ? कत्तिन्जेल नवराज विकहरुको प्रेमले सहिद हुनु पर्ने हो? यसै प्रसंगमा कलाकार एवं नायिका आशा भुषालले आफनो अभिमत जाहेर गरेकी छिन् ।

हेर्नुस जस्ताको त्यस्तै :

बहुरङगी छौ हामीहरु । धेरै खालका नदेखिने अनुहार छन् हामीहरुका । हामीहरु मुसलमानको फ्रेस हाउसमा गएर उसले हलाल गरी काटेको मासु किनेर खान्छौ । मुसलमानकै सैलुनमा गएर कपाल मुण्डन गर्दछौं । मुसलमानकै होटल तथा रेष्टुरा, मिठाई पसलमा गएर भोजन गर्दछौं । हामीहरुमध्ये कसैका छोराले क्रिश्चियन धर्मकी गोरेनी केटी बिहे गर्दा गर्ब गर्दछौ । गोरालाई छोरी दिन पाए झनै अगाडी सर्दछौ । जुन धर्म, सम्प्रदाय र जातको भएपनि बिदेशी नागरीकलाई छोरी ज्वाई जस्तै सम्मान गर्दछौ ।

दमाई दाईले सिलाएको कपडा लगाएर आफुलाई उच्च बर्गको ठान्दछौ । कामी दाईले बनाएको महलमा बसेर आफुलाई खान्दानी भन्दछौ । कामी दाईले नै बनाएको मन्दिरमा पुजा गरेर आफुलाई धर्मात्मा घोषणा गर्दछौं । सार्कि दाईले सिलाएको जुता लगाएर आफुलाई नायक सोच्दछौ । त्यतिमात्र होइन बिभिन्न पार्टीको खोल ओढेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा लगाउँदै छुवाछुत, समानता, बिभेद र माबन अधिकारका भाषण ठोक्दछौं अनि बिकासका गफ गर्दछौ ।

हामीहरु कुकुरसँग बसेरसँगै खान्छौ, सँगै सुताउँछौ, चुम्वन गर्दछौ र काँखमा लिएर माया गर्दछौ । तर हिन्दु धर्म भित्रका आफ्नै गोत्रीय दाजुभाई, सँगैका छिमेकी, आफ्नै देशका दाजुभाई तथा दिदी बहिनीलाई तल्लो जात र सानो जातको भनेर छुवाछुतको व्यवहार गर्दछौं । उनीहरुलाई कतिसम्म गछौ भने- 1) घरमा बोलाएर बाहिर ल्याएर खान दिन्छौ 2) बिवाहमा बाजा बजाउन बोलाएर पाखामा लगेर टपरीमा खान दिन्छौ 3) किन त्यसो गरेको भन्दा बुढाबुढी वा बावु आमाले मान्दैनन् र बिस्तारै परिवर्तन हुँदै जान्छ भनेर चोखो बन्दछौ

थुईक्क तिम्रो ठुलो जात ! कहिले हुन्छ परिवर्तन ? के हामी यहि परिवर्तनका लागि लडेका थिएनम ? आज भन्न मन छ म एक महिला हुँ तर यहि जातिय भेदभाव अन्त्यको लागि धेरै पटक आवाज पनि उठाएको छु । म कलकार भएको हैसियतले यस्तै जातिय भेदभाव अन्त होस भन्ने खालको सिनेमा पनि बनाएका थियम । हामिले यस्तै जातिय अन्ते होस् भनेर जनचेतना मुलक नाटक पनि देखाएका थिएम । तर आज दिन बित्यो, समय बित्दै गयो, हाम्रो लावाइ खुवाइमा परिवर्तन आए तर हाम्रो सोचमा कहिल्यै पनि परिवर्तन आउन सकेन। हामीले अझै कहिले सोच बदल्छम ? अझै के यस्तै नबराज बिक जस्ता हजारौंले आफ्नो ज्यान गुमाउनु पर्ने हो ? म प्रश्न गर्न चहन्छु सरकार, हाम्रो देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, आमूल परिवर्तन भयो भनेर महसुस गरिम हामिले । तर खोइ जातिय भेदभावको अन्त भएको? म फेरि पनि सम्पुर्ण नेपाली नागरिकलाई प्रश्न गर्न चाहान्छु ।

हाम्रो सोच चेतनामा कहिले परिबर्तन ल्याउने? आज जातिय विभेदकै कारणले कतिले अकालमै मारिनु परेको छ त कति युवा युवतीले यहि कुसोच भएको समाजको कारणले आत्महत्या गर्नु परेको छ। यो कहिलेसम्म ?अब हामी सधेरै यसरी चुप लाग्नु हुदैन । आफ्नो क्षेत्र देखि जातिय विभेद अन्तको खवरदारी गर्नुपर्छ । तबमात्र हाम्रो समाजमा जतिय विभेदको अन्त हुनेछ र नबराज जस्तो एक सच्चा प्रेमीको आत्माले शान्ती पाउने छ।

नायिका आशा भुषाल अभिनित चलचित्र ‘सुनपानी’ युटुबमा हेर्न सकिन्छ । सो फिल्म जातिय विभेद विरुद्धको कथावस्तुमा आधारित छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया