ट्याक्टर छाडेर खेतबारी जोत्न गोरुकै प्रयोग
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_400/https://businesspati.com/wp-content/uploads/2019/01/goru.jpg)
सिन्धुपाल्चोक २० बैशाख २०८०। परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेका छन् । तर, सिन्धुपाल्चोकका किसान भने ट्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसनालाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमुख बस्नेतले जानकारी दिए । उनले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको बताए ।
भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्याक्टर लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग ट्याक्टरले नखन्ने र मर्मत गरिरहुनपर्ने, तेल प्रयोगका कारण महंगो हुनेजस्ता समस्याका कारण आफूहरुले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउँछन् । केही समय ट्याक्टरको प्रयोग गरेको र बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उनको भनाइ छ ।राम्चेका किसान अटलबहादुर तामाङले भने ट्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउँछन् । गोरुले जोते जस्तै ट्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उनको अनुभव छ । ट्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उनी बताउँछन् । RSS
फेसबुकबाट तपाईको प्रतिक्रिया