ट्रम्पको पूर्वाधारमा लगानी वृद्धि योजना जोखीमयुक्त

वाशिङटन डीसी ३१ चैत्र  ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वाधारमाथि व्यापक लगानी बढाउने योजनाले त्यहाँ रोजगारी सृजना त बढाउँछ नै तर यसले अमेरिकाको ऋण दर र मुद्रास्फीतिसम्बन्धी दबाबलाई समेत बढाउने विज्ञहरू बताउँछन् । ट्रम्पले यसै महीनाको शुरूमा अमेरिकाका केही स्थानमा पुराना र खराब भएका पूर्वाधारको सुधार एवम् पुनर्संरचना गर्नका लागि ठूलो परिमाणमा लगानी गर्ने योजना सुनाएका थिए ।

अझै पनि सुस्त गतिमा बढिरहेको अमेरिकी अर्थतन्त्रलाई प्रस्तावित ‘ठूलो पुनर्निर्माण’ परियोजनाको माध्यमबाट नवीकरण गर्ने प्रतिबद्धताका कारण नै ट्रम्पका समर्थकहरूले उनलाई भोट दिएर राष्ट्रपति पदमा विजय दिलाएका थिए । सरकारी तथ्याङ्कअनुसार अमेरिकी रोजगारी दर कम नै भए पनि तथ्याङ्कले भने सक्रिय रूपमा पूर्णकालीन काममा संलग्नहरूलाई मात्र मापन गर्छ । वास्तवमा रोजगारीसम्बन्धी परिदृश्य धूमिल भएका कारण विशेषगरी ग्रामीण क्षेत्रका अमेरिकीहरूले जागीर खोज्ने काम नै छोडेका कारण पनि बेरोजगारको सङ्ख्या घटेको जस्ते देखिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

पूर्वाधारको पुनर्संरचनाले विशेषगरी निर्माण क्षेत्रमा रोजगारी बढाउने र काम खोज्दाखोज्दा निराश भएका मानिसहरूलाई पुनः फर्काउन सक्ने बताइएको छ । यो खुशीको समाचार भए पनि ट्रम्पको योजनाले श्रम बजारमा मुद्रास्फीतिमाथिको दबाबलाई बढाउन सक्ने खतरा पनि उत्तिकै रहेको विज्ञहरूको भनाइ छ । यससँगै यस योजनाले पहिल्यै नै धेरै रहेको अमेरिकी ऋणदरलाई समेत बढाउने देखिन्छ ।

यसैकारण यो योजनालाई एकतर्फी रूपमा मात्र लिन नमिल्ने बताइएको छ । पूर्वाधार परियोजनामा हुने अत्यधिक खर्चले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुग्ने कुरामा कुनै शङ्का नभए यस्तो प्रकारको खर्चलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । यद्यपि कसै कसैले भने ट्रम्पको यस योजनाले सोचेजति प्रभाव पार्न सक्नेमा कसै कसैले भने शङ्का पनि व्यक्त गरेका छन् । रासस/सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया