तपाईंलाई पाइल्स र फिस्टुला भएको त छैन ? यसरी गरौं उपचार -डा. कार्की

डा. चन्द्र कार्की,
एम.डी. आयुर्वेद–कायचिकित्सा (इन्टर्नल मेडिसिन)
रचना आयुर्वेद तथा हाडजोर्नी नशा अपचार केन्द्र, लगनखेल

१) रचना आर्युवेद तथा हाडजोर्नी नशा उपचार केन्द्र कस्तो संस्थो हो ?
यो संस्था आयुर्वेद र फिजियोथेरापीलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको हो । यहाँ जुनसुकै रोगको आयुर्वेदिक माध्यमबाट उपचारको लागि विरामीहरु आउन सक्छन् । खासगरी कायचिकित्सा (जनरल मेडिसिन ) एवं पायल्स, फिष्टुला जस्ता मलद्धारसँग सम्बन्धित रोगहरुको विशेष उपचार हुन्छ । नाक, कान, घाँटी, आँखा, स्त्री एवं प्रसुती रोग र बाल रोगको पनि सेवा उपलब्ध छ । साथै फिजियोथेरापीको माध्यमबाट हाडजोर्नी एवं नशा रोगको उपचार हुन्छ ।
२) अरु आयुर्वेदिक संस्था र रचना आयुर्वेद एवं हाडजोर्नी नशा उपचार केन्द्रवीच के भिन्नता छ ?
कुनै पनि अस्पतालले दिने सेवा मुख्य रुपमा त्यहाँ कार्यरत चिकित्सक एवं स्वाथ्यकर्मीको शैक्षिक योग्यतामा भर पर्छ । यहाँ सेवा दिने चिकित्सकहरु सम्बन्धित विषयका विशेषज्ञ भएको हुनाले हाम्रो सेवा गुणस्तरीय छ । साथै यहाँको व्यवस्थापन पनि राम्रो भएको हुनाले विरामीहरुले सहज रुपमा सेवा पाइरहेका छन । pyals
३) आज डाक्टरसावसँग मलद्धारसँग सम्बन्धित रोगहरुको कुरा गरौं । पाइल्स, फिस्टुला, फिसर कस्ता रोगहरु हुन् संक्षेपमा बताइदिनुहोस न ?
पाइल्स भन्नाले मलद्धार भित्र रहेको नशाहरु फुलिएर, बाँगोटिङो भएर जाने समस्या हो । यसको लक्षणको रुपमा दिशामा रगत जाने, मलद्धारबाट मासु निस्कने÷सुन्निने÷फुल्ने, पानी बग्ने, चिलाउने आदि हुन्छ ।
फिस्टुला भन्नाले मलद्धारको वरिपरीबाट पिप एवं रगत बग्ने, दुख्ने समस्या हुने रोग हो । यसमा मलद्धार भित्र एवं मलद्धार वरिपरी खुल्ने गरी पाइप जस्तो ट्रयाक्ट बनेको हुन्छ ।
दिशा कडा भएको अवस्थामा मलद्धारबाट काँक्रो चिरिएको जसरी हल्का चिरिएको अवस्थालाई फिसर भनिन्छ । यो अवस्थामा विरामीलाई दिशा गर्दा दुख्ने एवं पोल्ने हुन्छ । साथै दिशामा टाँसिएर रगत पनि आउँछ ।
४) दिन प्रतिदिन पाइल्स रोग बढनुको कारण के हो ?
यसको मुख्य कारण शहरी जीवनशैली हो । मैदाबाट बनेको तयारी खानाको सेवन, रेसादार खानाको कमी, मांसाहारी खानाको अत्याधिक सेवन, ब्यायामको कमी जस्ता कारणहरुले कव्जियत हुन्छ । लामो समयसम्म कव्जियत भइरहेमा पाइल्स एवं फिसर जस्ता रोग लाग्ने सम्भावना धेरै हुन्छ ।
५) पाइल्स रोगको मुख्य कारण कब्जियत भन्नुभयो । अरु कारणहरु पनि छन् कि ?
कव्जियत बाहेक महिलाहरुमा गर्भवती एवं सुत्केरी अवस्थामा, प्रोटेस्ट बढेको अवस्थामा वा मुत्रनली साँघुरो भएको कारण पिसाव गर्दा कन्नुपर्ने अवस्था, रेक्टमको क्यान्सर, पोर्टल हाइपरटेन्सन जस्ता अवस्थामा पनि पाइल्स हुनसक्छ । जेनेटिक कारण पनि पायल्स हुनसक्छ ।
६) कव्जियतको कारण चाँहि के हो ?
कव्जियतको मुख्य कारण रेसायुक्त खानाको कमी, मैदाबाट बनेका खानाको सेवन, मांसाहारको ज्यादा सेवन, शारिरीक ब्यायामको कमी हो । आइबिएस, डिप्रेसन जस्ता रोगको कारणले पनि कव्जियत हुन्छ ।
७) आजकल पाइल्स, फिस्टुला जस्ता रोगमा क्षारसुत्र उपचार विधि चर्चित छ । यो कस्तो उपचार विधि हो ?
क्षार भन्नाले सामान्य रुपमा अंग्रेजीमा अल्काली बुझिन्छ । सुत्रको अर्थ धागो हो । यसर्थ क्षारयुक्त धागोलाई क्षारसुत्र भनेर बुझदा भयो । क्षारसुत्रमा अपामार्ग (दतिवन) क्षार, स्नुहीको दुध एवं बेसारको प्रयोग गरिएको हुन्छ । त्यसैले क्षारसुत्र सामान्य धागो मात्र होइन । यो औषधीयुक्त धागो हो । क्षारसुत्र प्रयोग गरेर गरिने उपचारलाई क्षारसुत्र विधि भनिन्छ ।
पाइल्स, फिस्टुला एवं फिसर जस्ता मलद्धारसँग सम्बन्धित रोग, मुसा, सिष्ट आदिमा क्षारसुत्रको प्रयोग गरेर उपचार गरिन्छ । यो निकै नै प्रभाबकारी विधि हो । यो विधिबाट उपचार गर्दा पाइल्स, फिस्टुला जस्ता रोगहरु पुनः दोहोरीने सम्भावना निकै कम हुन्छ । विरामीलाई वेहोस पार्नु पर्दैन । साथै यो कम खर्चिलो पनि छ ।
८) पाइल्स रोगीले खानपानमा के कस्ता कुरामा ध्यान दिनुपर्ला ?
खानामा माछा, मासु, अण्डा बन्द गर्नुपर्छ । चाउमिन, चाउचाउ, विस्कुट, मम जस्ता मैदाबाट बनेका खाना खानु हुदैन । धेरै मसलाहरुको प्रयोग पनि गर्नु हुदैन । गहुँ एवं जौको को प्रयोग हितकर हुन्छ । साग सब्जी, अन्य तरकारी, फलफुल, सलाद बढी मात्रामा खानु राम्रो हुन्छ । पानी, दुध ,मही प्रसस्त खानु राम्रो हुन्छ ।
प्रस्तुतिः रिसव गौतम

 

फेसबुकबाट तपाईको प्रतिक्रिया