थपिने मोबाइल ग्राहक भारत र चीनमा सर्वाधिक

नयाँ दिल्ली २० असार

सन् २०२० को अन्त्यसम्म्मा विश्वमा थपिने मोबाइलको नयाँ ग्राहकको सङ्ख्यामा भारत र चीनले झण्डै आधा हिस्सा ओगट्ने एक नयाँ अध्ययनले देखाएको छ । ‘मोबाइल इकोनोमीः एशिया प्रशान्त २०१७’ शीर्षकको प्रतिवेदनअनुसार आगामी ३ वर्षभित्र विश्वमा थपिने मोबाइलका नयाँ ग्राहकको सङ्ख्यामा भारतले २७ प्रतिशत र चीनले २१ प्रतिशत हिस्सा ओगट्नेछन् । सो अवधिभित्र विश्वमा नयाँ ग्राहकको सङ्ख्या ७५ करोड ३० लाख रहने बताइएको छ । त्यस्तै, समग्र एशिया प्रशान्त क्षेत्रमा सन् २०२० सम्ममा मोबाइल ग्राहकको सङ्ख्या ३ अर्ब १० लाख पुग्ने अध्ययनमा बताइएको छ । यो विश्वव्यापी ग्राहकको सङ्ख्या वृद्घिको करीब दुई तिहाइ हिस्सा हो ।

सन् २०१६ को अन्त्यसम्ममा भने यस क्षेत्रमा मोबाइल ग्राहकको सङ्ख्या २ अर्ब ७० करोड रहेका थिए । त्यस्तै, मोबाइल उद्योग एशियाको आर्थिक तथा सामाजिक विकासमा प्रमुख योगदान दिने क्षेत्रका रूपमा उदाउने पनि अध्ययनमा भनिएको छ । एशिया प्रशान्त क्षेत्रमा ग्राहकको सङ्ख्या बढ्नु भनेको यस क्षेत्रमा मोबाइलमाथिको पहुँच सन् २०१६ को ६६ प्रतिशतको तुलनामा बढेर सन् २०२० मा ७५ प्रतिशतमा उक्लिनु हो ।  यद्यपि, यस क्षेत्रको प्रकृतिमा भिन्नताका कारण मोबाइलमाथिको पहुँचको दर पनि फरक हुने बताइएको छ । गतवर्ष मोबाइल प्रविधि तथा सेवाले एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्रमा १ दशमलव ३ ट्रिलियन डलरको योगदान दिएको थियो । यो त्यहाँको कुल गार्हस्थ्य उत्पादनको ५ दशमलव २ प्रतिशतबराबर हो । रासस/पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया