थप ३ बिमा कम्पनीले लिए लाइसेन्स
काठमाडौं,११ भदौ ।
बिमा समितिबाट थप तीनवटा जीवन बिमा कम्पनीहरूले सञ्चालन अनुमति ९लाइसेन्स० लिएका छन् । सिटिजन्स लाइफ, स्टार लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार लाइसेन्स लिएको समितिले जनाएको छ । योसँगै नेपालमा लाइसेन्स प्राप्त जीवन बिमा कम्पनीको संख्या १८ पुगेको खबर आजको कारोबर दैनिकमा छापिएको छ ।
अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० नयाँ जीवन बिमा कम्पनीमध्ये नौ वटा कम्पनीहरूले पुँजी कायम गरी लाइसेन्स लिइसकेका छन् । यसमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वाधार तयार पारी भदौ १ गतेदेखि नै कारोबार समेत सुरु गरिसकेको छ । तर, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भने अहिलेसम्म पुँजी पुर्याउन सकेको छैन ।
बिमा समितिले कम्पनीहरूलाई गत जेठमा पुँजी कायम गरी आउन तीन महिनाको अवधि दिएको थियो । समितिले दिएको समय अवधि सकिएपछि सोही दिन अर्थमन्त्रालयले ४५ दिन थप गर्न निर्देशन दिएको छ । यसले महालक्ष्मीलाई पुँजी पुर्याउन राहत मिलेको छ ।
जीवन बिमा कम्पनी सञ्चालनका लागी बिमा समितिमा पुगेका कम्पनीमध्ये असार २० मा आईएमई लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । जसमध्ये ज्योति लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड चुक्ता पुँजी रहेको समितिले बताएको छ ।
साउन १८ मा रिलायन्स लाइफ, रिलायबल लाइफ र सन्नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । तीनवटै कम्पनीको चुक्ता पुँजी २ अर्ब रूपैयाँ रहेको समितिले बताएको छ । जसमध्ये कम्पनीहरूले ७० प्रतिशत पुँजी कायम गरेका छन् ।
लाइसेन्स लिएका कम्पनीहरू ६ महिनाभित्र सञ्चालनमा आइसक्नुपर्नेछ । उक्त अवधिभित्र कम्पनीहरूले नौ वटा शर्त पूरा गर्नुपर्ने समितिमा उपनिर्देशक शाम्बाराज लामिछानेले बताए ।
कार्यलय स्थापना तथा भौतिक पूर्वाधार निर्माण, कर्मचारी नियुक्ती, कम्पनीको दिग्दर्शन निर्माण, कर्मचारी विनियमावली निर्माण, अण्डर राइटिङ र क्लेम सेटलमेन्ट म्यानुअल, आर्थिक प्रशासनसम्बन्धी विनियम, संस्थागत संरचना निर्माण, पुनर्बिमासम्बन्धी सम्झौता र विमांकीय नियुक्ती गरेपछि मात्रै कम्पनीहरूले व्यवसाय सञ्चालनको अनुमति पाउने उनले बताए ।
बिमा समितिले गत चैत ३१ मा नयाँ विमा कम्पनीहरूको लागि लाइसेन्स खुल्ला गरेको थियो । यस अघि नै रजिष्ट्रार कार्यलयमा दर्ता भइसकेका कम्पनीहरूलाई तीन साताको समय दिएर अद्यावधिक गरेर आउन निर्देशन दिएको थियो ।
समितिको दिएको अवधिसम्ममा १४ वटा अद्यावधिक भइ कम्पनीका सञ्चालनको अनुमति माग्दै समिति पुगेका थिए । जसमध्ये १० वटा जीवन बिमा कम्पनी थिए भने ४ वटा निर्जीवन बिमा कम्पनी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया