थापाथलीमा अरबौं पर्ने मन्दिरको जग्गा व्यक्तिको नाममा

काठमाडौं २४ माघ २०८०।

जिल्ला अदालत काठमाडौंको एउटा फैसलाले थापाथली स्थित लक्ष्मीनारायणको मन्दिर नजिक रहेको गुठीको जग्गा व्यक्तिका नाममा पुगेको छ । जिल्ला अदालतले गरेको फैसला विवादास्पद रहेको भन्दै स्थानीयबासीहरुले विरोध गर्दै आएका छन् । ०७३ साल चैत ८ मा सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसिर २७ गतेको निर्णयले उल्ट्याइ दिएको छ । गुठीको (जहाँ लक्ष्मीनारायणको मन्दिर छ ) जग्गा व्यक्तिको नाममा हुने गरी विवादास्पद फैसला भएको पाइएको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको एकल इजलासले उक्त विवादित फैसला गरेको हो । सर्वोच्चको प्रतिवादित नजिरलाई लत्याउँदै खनालले गुठीको जग्गा व्यक्तिको नाममा गरेर विवादास्पद फैसला गरेका हुन् । थापाथली स्थित करिया गाउँमा रहेको गुठीको जग्गा जयपाल श्रेष्ठको नाममा गरिएको हो । गुठी नियमावली विपरीत खाजा समयमा समेत काम गरेर अर्को दिन मुद्दाको पेसी नसर्ने गरी न्यायाधीश खनालले श्रेष्ठका पक्षमा फैसला गरेको आरोप छ ।

null

थापाथली स्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे ३ रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउन २०७३ मा सर्वोच्च अदालतले फैसला गरेकाे थियो । मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको थियो ।

गुठी संस्थानले केही वर्ष अघि सो लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु गरेको पनि हो । सो प्रक्रिया सामसुम पारेर अदालतबाट अहिले अर्को निर्णय गराइएपछि अहिले जिल्ला अदालतको सो निर्णय प्रति भयंकर संशय उत्पन्न भएको छ । ०७६ सालमा मन्त्रिपरिषदले नै गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा संस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको थियो ।

काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरूपमा फर्काउन संस्थान लागि परेको पनि हो । तर काठमाडौं जिल्ला अदालतको ०८० मंसिर २७ गतेको निर्णयले गुठीको अरबौं पर्ने मुल्यवान जग्गा व्यक्तिको पोल्टामा पर्ने भएको छ । त्यसरी अरबौको सरकारी जग्गा सेटिङको भरमा एकजना व्यक्तिको नाममा पुगिसक्दा समेत गुठी संस्थानसहित सम्बन्धित सरोकारवाला मौन छन् ।

सरकारले गलत गर्नेहरूको, सरकारी जग्गा किर्ते गरी हत्याउने तथा हड्प्नेहरुको फाइल धमाधम खोलिरहेको अवस्थामा यस विषयमा पनि विशेष ध्यान खर्चनु पर्ने एक जना स्थानीय व्यक्तिले बताए । उनले भने सबै जना चुप लागेर बस्ने हो भने यो ऐतिहासिक मन्दिर अब व्यक्तिको नाममा जाने भो । सयौं वर्ष पुरानो पुरातात्त्विक महत्वको सो मन्दिरमा हाल स्थानीयबासीकाे प्रवेशमा रोक लगाइएको छ । जहाँ भिएस निकेतनदेखि मेरी पपिन्स हुँदै हाल त्रैविद्य शिक्षा सदन भाडामा बस्दै आएका छन् ।

nullnull

संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगन्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको देखिन्छ । जबकी काठमाडौंको जग्गा वीरगञ्ज मालपोतमा राजीनामा पास हुने कुरा नै किर्ते भएको एक जना अधिवक्ताले बताए । सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयबासी बिहान–बेलुका जान नपाउँदा अहिले भने दुखी छन् । यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तम शम्शेरले लेखेको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ ।

लखनउ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथली स्थित प्रसूतिगृह नजिकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तम शम्शेरले पुस्तकमा उल्लेख गरेका थिए ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस संगठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमंगल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् । यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तम शम्शेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
जंगबहादुर राणाको पुर्ख्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयबासी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया