नागरिक लगानी कोषले बोनस सेयर दिने

काठमाडौँ ३१ असार २०८१  

नागरिक लगानी कोषको २९ औँ वार्षिक साधारणसभा कोष अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए ।
बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थितिबारे जानकारी दिए भने सेयर धनीहरूबाट उठाइएका विषयहरू तथा सुझावहरूका सम्बन्धमा थप पुष्टयाइँ गरे ।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया