निजीमा धाउने सरकारी प्राध्यापकमाथि निगरानी

काठमाडौँ ६ साउन ,
चितवन-सरकारी क्याम्पसमा हाजिर गरेर निजीमा धाउने प्राध्यापकमाथि स्थानीय प्रशासनले निगरानी थालेको छ । त्रिविका आङ्गिक क्याम्पसहरु वीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, कृषि तथा वन विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस, सिटिइभिटीको स्कुल अफ हेल्थ साइन्स र सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र करारमा तलब बुझ्ने तर अधिकांश समय निजी शिक्षण संस्थामा पढाउने प्राध्यापकमाथि प्रशासनले निगरानी बढाएको हो।
अधिकांश प्राध्यापकले सरकारी क्याम्पसमा हाजिर गरेर निजी धाउने गरेको जनगुनासो बढेपछि स्थानीय प्रशासनले सबै शिक्षण संस्थाबाट प्राध्यापकको सूचीसहित पढाउने समयको विवरण माग गरेको छ।
जिल्लामा निजी १९ उच्च मावि, ४६ सामुदायिक उच्च मावि र १७ वटा सामुदायिक क्याम्पस रहेका छन् । यहाँ खुलेका अधिकांश निजी उमावि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकले सञ्चालन गरेका छन्।
वीरेन्द्र बहुमुखी क्याम्पसमा मासिक रु ५० हजार तलब बुझ्ने र निजी उमाविका कार्यक्रम संयोजक बनेर ब्रोसर, पम्प्लेट तथा सञ्चारमाध्यममा तस्बिर राखेर प्रचारप्रसार गरेकोसमेत पाइएको छ।
वीरेन्द्र बहुमुखी क्याम्पसकी प्रशासन प्रमुख शारदा पौडेलका अनुसार, त्यहाँ कार्यरत करिब २०० स्थायी, करार प्राध्यापकले निजी र सामुदायिक विद्यालयमा पढाउँदै आएका छन्। स्नातक पढाउने प्राध्यापकले हप्तामा १५ घन्टी र स्नातकोत्तर पढाउनेले १२ घन्टी पढाउनुपर्ने हुन्छ।
उनीहरुले आफ्नो कक्षा लिने र तत्काल अर्काे निजी क्याम्पसमा पढाउने गर्दछन् । यस्ता प्राध्यापकले ७÷८ वटा उमाविसम्म पढाउने गरेको स्वयम् प्राध्यापक बताउँछन्। उनीहरुलाई ‘हेल्मेट टिचर’को संज्ञा दिने गरिन्छ।
वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सापकोटाका अनुसार विश्वविद्यालयको नियमअनुसार क्याम्पसले तोकेको समयमा बाहिर पढाउन पाँइदैन । अन्य समयमा पढाउनु पर्दा अनुमति लिनुपर्ने हुन्छ । त्यसरी अनुमति लिएर पढाउनेको संख्या कमै मात्र छ ।
चितवनका प्रजिअ विनोदप्रकाश सिंहले जनगुनासो बढेपछि सबै उमावि र क्याम्पसमा पत्राचार गरी प्राध्यापकको विवरण र पढाउने समय माग गरिएको बताए। त्यसरी सरकारी तलब खाएर निजी धाउने प्राध्यापकमाथि करबाही हुने उनको भनाइ थियो ।
स्थानीय प्रशासनले कडाइ गरेपछि यहाँका सरकारी अस्पतालका चिकित्सक पनि कार्यालय समयमा बाहिर धाउन छाडेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया