नेपालमा भारतीय हैकमबाद
– टंकनाथ पौडेल
कुनै न कुनै तरिका वा रुपमा एक देशले अर्को देशलाई राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक हिसावबाट प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाबाट राख्नु नै हैकमवाद हो । यद्यपी यो कुनै राजनीतिकवाद भने चै होइन । सामान्य अर्थमा बुझाउनु पर्दा एकले अर्कोलाई थिचोमिथो गर्नु नै हैकमवाद हो । विशेषगरी जब विश्वमा सामान्तवादी राज्य ब्यवस्था भयो तव केही ठूला र शक्तिशाली देशहरुले साना तथा अल्पविकसित देशहरुलाई आफ्नो मातहतमा राखेर आफ्नो अनुकुल हुनेगरी आफ्नै शासन प्रणाली लागु गराउन थाले जस्तै फ्रान्स, अमेरिका, जापान, बेलायत आदिले । हाम्रै दक्षिणतर्फको छिमेकी देश भारत पनि बृटिश इष्ट इण्डीया कम्पनी भनेर बेलयातले दुईसय पचास वर्ष सम्म शासन चलाएको थियो । यसरी देश कब्जा गर्दा विभिन्न वाहाना बनाएर जस्तै उद्योगधन्धा चलाई दिने, सडक, बिजुली बत्ती, नहर सिंचाईको ब्यवस्था गरिदिने आदि विभिन्न प्रपञ्च रच्दथे । त्यतिमात्र होइन डेमोक्रेसी (प्रजातान्त्रिक) शासन सुब्यवस्थाको प्रलोभन देखाएर त्यहाँको राज्य सत्ता हातमा लिने र त्यहाँको प्राकृतिक तथा अन्य महत्वपूर्ण खनिज पदार्थ लगायत विभिन्न जडीबुटीहरु आफ्नो कब्जामा राखी ती वस्तुहरुलाई आफ्नो देशमा लैजाने कार्य गर्दर्थे साथसाथै आफ्नो अनुकुल नभएसम्म राज्य छोड्दैन थिए ।
हामीले गौरव गर्नु पर्छ हाम्रो मुलुक घोषित रुपमा आजका दिनसम्म कसैको पराधिन हुनु परेको छैन । हाम्रो देश नेपाललाई दुईसय पचास वर्षसम्म इष्ट इण्डिया कम्पनीको दास बनेर सन् १९५० मा मुक्ती पाएको भारतका शासकहरुले आज नेपाललाई विभिन्न कोणबाट प्रहार गरिरहेका छन् । इष्ट इण्डीया कम्पनीले भारत कब्जा गरेकै बखत पूर्वको सीक्किम, दार्जलिङ्ग, सिलीगुडी सम्मको र पश्चिम कुमाउ, गढवाल, शतलज सम्मको नेपाली भूभाग हडपेकोमा सो कम्पनी भारत छाडेर फीर्ता गइसकेपछि स्वतः रुपमा नेपाललाई फिर्ता गर्नु पर्नेमा फिर्ता नगरी भारतीयहरुले दुष्ट अनुहार देखाएका थिए ।
भारतले पूर्वदेखि पश्चिमसम्मका ७१ ठाउँमा क्रमिक रुपमा सीमा पिलर एकलौटी सार्दै जमिन हस्तक्षेप गर्दै आएको छ । एक प्रसँग लीउँ सुस्तामा त्यहाँका आदीवासीका अनुसार ४८ हजार हेक्टर जमिन भारतीय शासकहरुले कब्जा गरेको पाइन्छ । के यसरी सानो तथा कमजोर मुलुकको जमिनलाई आफ्नो कब्जामा गर्न मिल्छ ? देश सानो होस या ठूलो सार्वभौमिकताका हिसाबले नेपाल–भारत समान छन् । सार्वभौमिकता सानो वा ठूलो भन्ने हुँदैन । बराबरी हुन्छ ।
भारतीय हैकमवादको चर्चा गर्दा कालापानी, लिम्पियाधुरा, लिपुलेक सम्मको तीन गाउँ जमिन भारतले छ दशक अघिदेखि मिचिरहेको छ । उसले हाम्रो जमिनमा आफ्नो सैनिक क्याम्प खडा गरिरहेको छ । हाम्रो भूमिमा उसले त्यहाँ कुनै नेपालीलाई समेत छिर्न दिएको छैन । त्यतिमात्र होइन भारतले नेपाली भूमिलाई एकवर्ष अघि आफ्नो राजनीतिक नक्सामा समावेश गरेको थियो । त्यो बिषय पनि असह्य भएर नेपाली जनताको दवावमा वर्तमान सरकारले पनि त्यो भूभागलाई आफ्नो नक्सामा राखेको छ । यद्यपी त्यो भूभाग नेपालले उपभोग गर्न पाएको छैन । त्यो भूभागलाई कसरी उपभोग गर्न सकिन्छ सरकारको ध्यान त्यता पनि जानु पर्ने हो तर सत्ता संघर्षको किचलोले हाम्रा शासकहरुको ध्यान अहिले त्यतातर्फ गएको छैन् ।
भारतीय शासकहरुले नेपालको राजनीतिमा प्रत्यक्ष – अप्रत्यक्ष हस्तक्षेप गरिरहेका छन् । आफ्नो अनुकुलको प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु ल्याउने ध्याउन्न उनीहरुको हुन्छ । आफ्नो अनुकुलको सत्ता बनाउन उनीहरुले सहयोगको आवरणमा ठूलो खेल खेलीरहेका हुन्छन् । चुनावको बेला आफू निकट राजनीतिक दल तथा नेताहरुलाई ठूलो आर्थिक सहयोग गर्छन । भारतीय सहयोग र आशीरवाद लिएर चुनाव जितेपछि ती दल तथा नेताहरुले कसको हितमा काम गर्छन ? त्यो बताईरहनु पर्दैन होला ?
भारतीयहरुले धार्मिक, साँस्कृतिक र रोटीबेटीको सम्बन्ध देखाएर अनेक लाभ लिइरहेका छन् । नेपाली चेलीहरुलाई विवाह गरेर दास बनाउने त छँदैछ भने अर्कोतर्फ नेपालीको ज्वाई बनेर चाँडै अङ्गीकृत नागरिकता लिने र राजनीति गर्ने कुटील चाल चाल्ने गर्छन् । नेपालको कतिपय महत्वपूर्ण पदमा पुगेर भारतको इसारामा उनीहरुले काम गर्छन् । त्यतिमात्र होइन भारतका भोका, नाङ्गा, गरिब तथा सुकुम्बासीहरुलाई नेपाल भिœयाउने र राजनीतिक ब्यक्तिहरुलाई विभिन्न प्रलोभन देखाई उनीहरुको आड्मा ती ब्यक्तिहरुलाई नागरिकता दिलाउने काममा अग्रसर भएका छन् । नीति नै परिवर्तन गरेर धेरै भारतीय ब्यक्तिहरुलाई नेपाली नागरिकता दिइएको छ । उनीहरुको अन्तिम उद्देश्य नेपालीलाई अल्पमतमा पारेर फिजीकरण बनाउने दीर्घकालीन रणनीति अपनाई काम गरिरहेका छन् । त्यो ज्यादै खतरनाक खेल हो । यो कुरा प्रत्येक नेपालीले बुझ्न जरुरी छ ।
भारतले नेपालमाथि आर्थिक हैकम पनि लामो समयदेखि जमाइराखेको छ । नेपाललाई आवश्यक पर्ने सबै सामानहरु भारतले बेच्ने गर्दछ । नेपालको सम्पूर्ण ब्यापारको दुईतिहाई हिस्सा भारतसँग छ । भारतबाट पाउन नसक्ने समानमात्र नेपालले बाहिरबाट ल्याउने गर्दछ । आर्थिक वर्ष २०७५÷७६ मा भारतले नेपाललाई ९ खर्ब १८ अर्बको सामान बेचेको थियो । उसले नेपालबाट जम्मा ६३ अर्बको मात्र सामान किनेको थियो । रोजगारीकै कुरा गर्ने हो भने नेपालीले भारतबाट ल्याउने रकम भन्दा यताबाट उताजाने रकम चार गुणा बढी छ । विश्व बैंकका अनुसार सन् २०१९ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स गएको थियो । भारतले रेमिट्यान्स आउने देशहरुको सूचीमा नेपाललाई आठौं स्थानमा राखेको छ । भारतमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर १४ प्रतिशत थियो । यस हिसाबले सन् २०१९ मा नेपालबाट भारतमा तीन अर्ब ९१ करोड ९५ लाख रेमिट्यान्स गएको अर्थशास्त्रीहरुको अनुमान छ । यो हिसाबले सन् २०१९ मा चार खर्ब ७० अर्ब नेपाली रुपैयाँ भारतमा गएको देखिन्छ तर भारतीय शासकहरुको बुझाई के छ भने भारत बिना नेपाल बाँच्न सक्दैन । तथ्यहरुले के पुष्टि गर्छ भने नेपालले भन्दा भारतले धेरै आर्थिक लाभ गरेको छ । भारतले नेपाललाई कतिपय गुणस्तरहीन र विषादीयुक्त सामान बेची नेपालीहरुको स्वस्थ्यमा खेलबाड गरेको छ । र त्यसपछि उसले औषधि तथा स्वास्थ्य इक्युपमेन्ट समेत ठूलो परिमाणमा बेच्ने गर्दछ ।
भारतले नेपाल माथि सत्ताधारी तथा विपक्षीदललाई समेत प्रभावमा राखेर यहाँका प्राकृतिक स्रोत साधन र नदीनाला माथि पनि आफ्नो अधिकार जमाएको छ । कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धी, महाकाली सन्धी र अरुण तेश्रो लगायत थुप्रै परियोजनाहरु मार्फत दोहन गरिरहेको छ । कतीपय हाम्रो बनजंगलमा भएका जडीबुटीहरु कौडीको मूल्यमा कच्चा पदार्थको रुपमा किन्ने गर्दछ भने त्यहि कच्चा पदार्थलाई प्रशोधन गरेर ट्यावलेटको रुपमा महँगोमा बेच्ने गर्दछ । हाम्रो देशको चुरे क्षेत्रका ढुङ्खा, बालुवा, गीट्टीको समेत दोहन गर्दछ । त्यतिमात्र होइन भारतले सयौं ठाउँमा तट्बन्धन बाँधेर नेपाललाई डुवानमा पारेको छ । शारदा ब्यारेजमा वर्षा याममा नेपाली जनताको घरखेत डुब्ने समस्या छँदैछ भने सुक्खा याममा सबै पानी उनीहरुले लगि आफ्नो जमिनमा सिंचीत गर्छन भने हाम्रो तर्फका किसानहरुले एक थोपा पनि पानी पाउँदैनन् खेती गर्नको लागि । यो हाम्रा शासकहरुको कमी कमजोरीले त्यस्तो भएको हो ।
आज भन्दा दुई तिन दशक पहिले हामी नेपालीलाई चाहिने आवश्यक वस्तुहरुको सबै मुलुकमै उत्पादन हुन्थ्यो । हामीले धान, तरकारी समेत निर्यात गर्दथ्यौं । हामीलाई चाहिने लत्ता कपडा, जुत्ता, चीनी सबै यहि बन्दथ्यो । हामी आत्मनिर्भर थियौं । त्यतीखेर हामीलाई बाहिर बाट किन्नु पर्ने भनेको नुन, मट्टितेल, सवारी साधन र मेसीनरी सामान मात्र हुन्थ्यो तर भारतको हैकमवाद नीतिले र यहाँका सत्ता संचालक शासकहरुको कमी कमजोरीले उद्योगहरु ध्वस्त बनाइयो । शासकहरुलाई प्रलोभनमा अर्थात् प्रभावमा राखेर आत्मनिर्भरताबाट कोशौं टाढा हुने काम भयो ।
भारतले नेपालीलाई अनेकौं दुःख दिइरहेको छ । केहि वर्ष अघि नाकाबन्दी लगाएर नेपालीलाई भारतले धेरै दुःख दिएको थियो । तर नेपालीहरु अनेक दुःख सहेर पनि घुँडा टेकेन । अन्त्यमा बाध्य भएर भारतले नै नाकाबन्दी खोल्यो । हाम्रा शासकहरु भारतसँग पराधिन भए पनि जनताहरु आत्मनिर्भर भएर बाँच्ने गरेका छन् । मैले यो यथार्थतलाई कहाँ जोड्न खोजेको हो भने आज आम नेपालीहरु आफू स्वाभिमानलाई उचो राखेर बाच्न चाहन्छन् । कसैको पराधिन नभै स्वतन्त्र जीउन चाहन्छन् । आत्मनिर्भर भएर बाँच्न चाहन्छन् । तर दलाल अर्थतन्त्रमा रमाएका नेता भन्नेहरु देश आत्मनिर्भर भयो भने आफ्नो आयश्रोत घट्छ भन्ने ठान्दछन् र देशलाई गरिबी देखाएर गरिबीको झोला बनाएर हरेक पुँजीवादी साम्राज्यवादीहरुसँग मागेर नगद लिन्छन् र सजिलो सँग कमिशनबाट छीटो भन्दा छीटो धनी बन्न चाहन्छन । हालको अमेरिकाको एमसिसी पनि यही सोचको उपज हो । यो सोच आजका नेताहरुमा बदलीन सक्तैन अब छीटो भन्दा छीटो नेता बदल्न जरुरी छ ।
प्रकासित मिति २०७७–४–२४
फेसबुकबाट तपाईको प्रतिक्रिया