नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिबीच सम्झौता
काठमाण्डौ ११ कार्तिक २०७८
नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लिको सहकार्यमा एप्पलको मोबाइल फोन (आइफोन) खरिदकर्ताहरुका लागि कम्पनीको डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङ प्रालिका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।
सो सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने (आइफोन १३) मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराइनेछ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोर मार्फत निःशुल्क उपलब्ध गराउने भएको छ । यो सिममा मेन व्यालेन्स रु. १० र थप व्यालेन्स रु. ४० उपलब्ध हुनेछ । उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिने जनाइएको छ ।
एप्पलको नयाँ भर्सन आइफोन १३ प्रयोगकर्ताहरुलाई बण्डल गरिएको नेपाल टेलिकमको डाटा प्याकेज थप आकर्षण हुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया