नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि

काठमाडौँ, ५ फागुन २०८१ । यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
आज तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा र १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ दुई दशमलव १६, होटल तथा पर्यटन दुई दशमलव २९, लघुवित्त दुई दशमलव ४५ र अन्य समूह दुई दशमलव ४७ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक शून्य दशमलव ३३, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, म्युचुअल फन्ड शून्य दशमलव ५२ र निर्जीवन बिमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । तीन वटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह शून्य दशमलव ८४, जलविद्युत् शून्य दशमलव १५ र व्यापार समूह एक दशमलव २७ प्रतिशतले घटेको छ ।
छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको सबैभन्दा धेरै चार करोड १६ लाख तीन सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया