पानीको बहाब उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलियो

बिजनेसपाटी ११ श्रावण

नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दुसमेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलब ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत हुन्छ । नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमा समेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गण्डक ब्यारेजको सबै ढोका खोलिए पनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ । अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले नदी किनार आसपासमा साइरन बजाई स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए ।

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् । नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेको हो । पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया