पोखरामा यसकारण छ जहाज उडाउन जोखिम
काठमाडौं १० फागुन २०७९।
खास नाम ईश्वर केसी तर सामाजिक सञ्जालमा उनले ‘इशु ब्रो’राखेका छन्। उनै केसीले सोमबार दिउँसो खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जुन भिडियोको सम्बन्ध पोखरामा चराबाट हुने हवाई जोखिमसँग छ।
गत पुस १७ गते देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको जोखिम रहेको विमानस्थलले नै बारम्बार बताउँदै आएको छ। यसअघि पनि माघ २ गते विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको थियो। चराले हवाई उडानमा जोखिम निम्त्याउन सक्ने गुनासो उठिरहेका बेला सोमबार केसीले विमानस्थलमा अवतरणका क्रममा रहेको बुुद्ध एयरको जहाजसँग चरा ठोक्किएको भिडियो संयोगवस कैद गरेका थिए।
दिउँसो ३ बजेर २४ मिनेटमा खिचिएको उक्त भिडियोमा जहाजसँग चरा ठोक्किएको देखिन्छ। त्यसपछि चरा फनफनी घुम्दै भूँइमा खसेको पनि भिडियोमा देखिन्छ। जहाजमा ठोक्किएको चरा खसेको ठाउँ गल्फकोर्षको ‘ग्रिन’हो। जहाँ गल्फरले प्रशिक्षण लिइरहेका थिए। जहाजसँग चरा ठोक्किएको ती गल्फरले पनि देखेका थिए। जहाजसँग चरा ठोक्किएको जानकारी उनीहरूले सञ्चारकर्मीलाई समेत गराएका थिए।
केसीले खिचेको भिडियोमा जहाजसँग चरा ठोक्किएपछि भुइँमा खसेको भन्दै एकअर्कासँग कुराकानी पनि गरेको सुनिन्छ। खसेको चरालाई समाउन गल्फकोर्ष क्षेत्रमा रहेका बालकहरू दौडेको देखिन्छ। उनीहरूले समाएको चरा उडाउने प्रयास पनि गरेका थिए। चरा नउडेपछि एक बालकले हातले झुन्ड्याएर लगेको पनि देखिन्छ।
विमानस्थलवरिपरि हुने चराका गतिविधिका कारण हवाई उडान जोखिमपूर्ण रहेको गुनासो आइरहेका बेला सोमबार यस्तो घटना भएको हो। ‘चराका कारण दिनहुँ समस्या परेको छ। कहिले उड्नेबेला त कहिले अवतरणका समयमा जहाजको नजिकै चरा आउँछन्,’ एक हवाई कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरले भने, ‘विमानस्थल नजिकै भएर बग्ने खोला र नहरमा जथाभाबी फ्याँकिने सिनोका कारण बढी चरा आएका हुन्। चराका कारण हवाई उडानमा जोखिम थपिएको छ।’
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले सोमबारको भिडियो हेरेपछि पोखरास्थित कार्यालयका स्टेसन म्यानेजरलाई त्यसबारे सोधेको तर जहाजसँग चरा ठोक्किएको विषयमा कुनै जानकारी नभएको भन्ने जवाफ पाएको बताए। ‘जहाजको पखेटा, प्रोपेलरसहित सबैतिर हेर्यौं तर कतै पनि चरासँग ठोक्किएको दाग देखिएन,’ उनले भने, ‘रगतको टाटो, चराको प्वाँख कतै पनि भेटिएन।’ जहाजमा कतै पनि क्षति नभएकाले रिपोर्टिङ नभएको हुनसक्ने उनले बताए। कर्णको अनुमानमा हावाको गति र जहाजको ध्वनिका कारण नजिकै उडिरहेको चरा अत्तालिएर खसेको हुनसक्छ। उनले विमानस्थल नजिकैका नहर र खोलामा जथाभाबी सिनो फ्याँक्दा चराबाट हुने जोखिम बढ्न सक्ने बताए।
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम जहाजसँग ठोक्किएको चरा भुइँमा खसेको भन्दै भाइरल बनाइएको भिडियोमा सत्यता नभएको दाबी गर्छन्। ‘मैले पनि यो भिडियो हेरें, त्यसबारे सिरियस हुनैपर्छ। भिडियो हेरेपछि टावर र एयरलाइन्स कम्पनीलाई पनि सोधेको हुँ। तर कतैबाट पनि पुष्टि भएन,’ गौतमले भने, ‘जहाजसँग ठोक्किएको भए चरा सग्लै झर्ने अवस्था रहन्न, छियाछिया हुनुपर्छ।’ जहाजसँग चरा ठोक्किएको नभई जहाजको हावाको प्रेसरले चरालाई हुत्याएको हुनसक्ने उनले बताए। ‘शक्तिशाली इन्जिन भएको जहाजले उडिरहँदा तातो हावा फ्याँक्छ। कहिलेकाहीं त तातो हावाले धावनमार्गको कालोपत्रे पनि उप्काउने र रुखको हाँगा नै भाचिन्छ। चरा ठोक्किएको भए जहाजमा कतै न कतै असर हुन्थ्यो,’ उनले भने। गौतमले पछिल्ला केही दिनयता विमानस्थलमाथिको आकाशमा चराहरूको गतिविधि कम हुँदै गएको बताए।नागरिक दैनिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया