प्रचण्डलाई बाबुरामको जवाफ- सुकेका ठुटा र हाँगा जोडेर रूख बढ्दैन

काठमाडौँ ७ जेस्ठ 

पूर्व माओवादी नेता नयाँ शक्ति नेपालका संयोजक  बाबुराम भट्टराईले सुकेका ठुटा र हाँगा जोडेर रूख नबढ्ने भन्दै नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने बताएका छन्। नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा सहभागी हुन गरेको आग्रहको जवाफमा डा. भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नु सुकेका ठुटा र हाँगा जोडेर रुखलाई बढाउन खोज्नुजस्तै भएको भन्दै आफू एकताको पक्षमा नरहेको बताए।

नयाँ शक्ति नेपालले पार्टी घोषणाको तयारी बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफू सुकेका ठुटा र हाँगा जोड्नेभन्दा जरासहितको विरूवा हुर्काउने पक्षमा रहेको बताए। नयाँ शक्तिका संयोजक डा. भट्टराईले दाहालको पार्टी एकताको प्रस्तावलाई उट्पट्याङ भनी टिप्पणी गरे। उनले आफू उट्पट्याङ कुराको पछि लागेर समय खेर फाल्ने पक्षमा नरहेको भन्दै सकारात्मक सोचसहित नयाँ पार्टी घोषणा गरेर सुशासन र समृद्धिको काममा केन्द्रीत हुने बताए।

यही जेठ ३० गते नयाँ शक्ति नेपालले पार्टी घोषणा गर्दै छ  । भट्टराईले एक लाख सदस्यलाई सामूहिक रुपमा सपथ खुवाएर पार्टी घोषणा गर्ने तयारी गरिरहेको बताए। नयाँ शक्तिले काठमाडौको दशरथ रंगशालाबाट पार्टी घोषणा गर्दै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया