प्रधानमन्त्री प्रचण्डले भने–‘शान्ति प्रक्रिया माओवाद र गान्धिवादकाे फ्युजन’

काठमाडौं १७ अशोज

प्रधानमन्त्री  ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया माओवाद र गान्धिवादको बीचबाट आएको नयाँ र मौलिक प्रयोग भएको बताएका छन् ।

आइतबार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित शान्ति र राजनीतिक स्थायित्वका लागि आर्थिक समृद्धि विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘गान्धिवाद एउटा सोंच हो, दृष्टिकोण, दर्शन र आदर्श हो । त्यस्तै माओवादी पनि एउटा आलोक, सोंच, दृष्टिकोण, दर्शन र आदर्श हो । हामीले नेपालमा माओवाद र गान्धिवादको बीचबाट एउटा नयाँ र मौलिक प्रयोग गरेर शान्ति प्रक्रियामा आयौं । यो नेपालका लागि मात्रै नभएर विश्व इतिहास र राजनीतिका लागि अनुकरणीय प्रयोग र सिद्धान्त बन्न सक्छ ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘जसले युद्धको मर्म बुझेको हुन्छ, शान्तिको मर्म र गहिराई पनि त्यसैले बुझेको हुन्छ । अशोक सम्राट युद्धका नायक थिए, पछि उनैले शान्तिको आवश्यकता बोध गरें र बुद्ध दर्शनका पक्षपोषण गरे । नेपालमा हामीले माओवादको आदर्श पछ्यायौं र जनयुद्ध गर्यो । नेपाली कांग्रेसले गान्धिवादको पक्ष लियौं । अन्ततः गीरिजाबाबु र म मिलेर शान्ति प्रक्रियामा हस्ताक्षर गर्यौ र नेपाली राजनीति नितान्त मौलिक र नयाँ मोडमा आयो । यसलाई कसैले पनि सामान्य अर्थमा लिनु हुँदैन ।’
प्रधानमन्त्रीले थपे, ‘हामी नयाँ प्रयोगमै छौं । हाम्रो प्रयोग संस्थागत भइसकेको छैन । यो दुर्घटना पनि हुन सक्छ । हाम्रो राजनीतिक प्रयोगका जोखिमहरु कायमै छन् । तर, यसलाई सफलतापूर्वक गन्तव्यमा पुर्याउन सक्दा यो विश्वकै लागि अनुकरणीय हुन सक्छ । नेपालका बुद्धिजीवी मित्रहरुलाई माओवाद र गान्धिवादको बीचबाट नेपालमा भइरहेको नयाँ प्रयोगको अध्ययन, सैद्धान्तिकरण र दाशनिकीकरण गरी विश्वस्तरमा स्थापित गर्न म विशेष अनुरोध गर्छु ।’
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले गान्धिवाद विश्वव्यापी स्थापित दर्शन भएको बताउँदै विश्वमा गान्धिवादको प्रयोग जरुरी रहेको बताए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत रञ्जित राय, पत्रकार किशोर नेपाल, बुद्धिजीवीहरु, गोविन्द पोखरेल, होमनाथ दाहाल, रामचन्द्र प्रधान, पुरुषोत्तम दाहाल लगायतले नेपालको लोकतान्त्रिक आन्दोलन र समसामयिक राजनीतिबारे आफ्नो विचार राखेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया