प्रम ओलीद्वारा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ २६ जेष्ठ

प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरेका छन्। आफ्नो कार्यकक्ष सिंहदरबारमा आज भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी) का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चआयुक्तको कार्यालय (युएनएचसिआर) का प्रतिनिधिले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

दुबै भेटमा नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे कुराकानी भएको छ। भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको थियो।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्धलाई थप सुदृढ र बलियो बनाउनेबारे पनि उनीहरुबीच कुराकानी भएको थियो। बेलायतले नेपालको संविधान कार्यान्वयनबारे पनि चासो राखेको थियो।

त्यस्तै युएनएचआरसीका प्रतिनिधिले पनि नेपालको आर्थिक विकास र भूटानी शरणार्थी समस्याबारे जिज्ञासा राखेको थिए।

बेलायती सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालमा प्रसस्त लगानीको वातावरण रहेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार गोपाल खनालले सञ्चारकर्मीलाई जानकारी दिए।

दुई देशबीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा बेलायतको भूमिकालगायतको विषयमा कुराकानी भएको उनले उल्लेख गरे। बेलायती सचिवहरुले संविधान जारीपश्चात नेपाल आर्थिक विकासको दिशातर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्दै खासगरी ठूला परियोजनामा वेलायती लगानी कसरी भित्र्याउने र लगानी सुरक्षित गर्नेबारे विस्तृत कुराकानी भएको थियो ।

प्रमका परराष्ट सल्लाहकार खनालका अनुसार बेलायतले संविधान कार्यान्वयनप्रति राखेको चासोको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल यतिखेर संविधान कार्यान्वयनको चरणमा रहेको र सबैखाले समस्या समाधान भइसकेको र केही भए वार्ता र सहमतिबाटै समाधान खोजिने बताएका थिए।

डिएफआइडीका सचिव मार्क लोककले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको आधुनिक विकास र दुईपक्षीय सहयोगबारे सौहार्दपूर्ण कुराकानी भएको बताए।

त्यसैगरी युएनएचसिआरका प्रतिनिधिसँगको भेटमा विशेषगरी भुटानी शरणार्थी समस्या समाधान, नेपालको आर्थिक विकासमा खेल्ने भूमिकालगायतका विषयमा छलफल भएको थियो।

भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै युएनएचआरसीका प्रतिनिधि क्रेग सेन्डर्सले नेपालको समसामयिक परिस्थिति र भुटानी शरणार्थीबारे कुराकानी भएको बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया