फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता
झापा १९ साउन २०८०।
पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउँछन् । तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ ।
“विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ”, उहाँ मनको बह पोख्दै भन्छन्, “यसपाली साह्रै राम्रो फलेको छ । कात्तिकदेखि पाक्न सुरु हुन्छ । तर बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि ।” पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ । भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन् । राम्रो फलेर मात्र हुँदोरहेनछ । बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन् ।
इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवद्र्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ । पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्दछ । ‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ । इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन् ।
कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गरे । कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा रु पाँच लाख अनुदान दिएको थियो । थाङ्ग्रो हाल्न मात्रै रु सात लाख निजी लगानी गरेको उनले बताए । बर्सेनि किबी खेती विस्तार गर्दै उनले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहनुभएको छ ।
किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ । यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौँ नै हो । किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पु¥याउने गरेको उनले बताए । किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो । चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया