फेसबुकबाटै धन्दा, म्यासेज गरेर यौन प्रस्ताव

काठमाडौं ४ फागुन

सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ। यसबाट धेरैले लाभ पनि लिएका छन्। तर, पछिल्लो समय अपराध बढाउने माध्यम पनि बन्दैछ, फेसबुक। पछिल्लो उदाहरण मंगलबारप्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो। २१ वर्षीय एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठोमात्र छैन, प्रयोगकर्ताका लागि जिब्रो टोक्नुपर्ने पनि छ। परिचित युवकले ती युवतीलाई फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्तावमात्र राखेनन्, अश्लील सन्देश पठाएर हैरान पारे।  युवती प्रहरीकहाँ पुगिन्। प्रहरीले तुरुन्तै ललितपुरको ग्वार्कोबाट सागर धिताललाई पक्राउ गर्यो। राजधानी दैनिकमा समाचार छ

सागरले कहिल्यै नचिनेको केटीको फोन नम्बर एउटा फेसबुकबाट पत्ता लगाएका रहेछन्। त्यसपछि प्रहरीको अनुसन्धानको सुई अश्लील नाम दिएर खोलिएको अकाउन्टतिर सोझियो। अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा जागिरे सुरज बस्नेतले चलाइरहेका रहेछन्। अनौठो त के भने सेक्स धन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले सो फेसबुक अकाउन्ट चलाएका रहेछन्। प्रहरीको अहिलेसम्मको अनुसन्धान भन्छ, ‘संगठित यौन धन्दा चलाउने र आफ्ना पक्षमा नदेखिने महिलाको हुर्मत लिनकै लागि केही व्यक्तिको संलग्नतामा संगठित धन्दा भएको देखिन्छ।’ ती व्यक्तिले खोलेको अकाउन्टमा २३ युवतीको टेलिफोन नम्बर सार्वजनिक गरिएको छ। बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको फेसबुकलाई यौनसम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने सूचना पोस्ट गरेको प्रहरीको भनाइ छ। प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया