बन्दको क्रममा ट्रकमा आगजनी,छ जना पक्राउ

तनहु १० श्रावण

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ।

भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन्।

बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए। आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए।

यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ। ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया