बीपी र पुष्पलालको मार्गदर्शनबाट टाढीएका नेपाली काँग्रेस र नेकपा
– नन्दलाल खरेल
बीपी र पुष्पलाल नेपाली राजनीतिका दुई शिखर व्यक्तित्व हुन् । यिनै दुई शिखर व्यक्तित्वको शाखलाई भजाएर नेकपा र नेपाली काँग्रेसले आलोपालो सत्ता संचालन गरिरहेका छन्, नेपाली राजनीतिक इतिहासमा । यद्यपी नेकपा र नेपाली काँग्रेसले राष्ट्र र जनताको पक्षमा ती शिखर पुरुषले देखाएको मार्ग दर्शनलाई हजारौं कोष टाढा राखी शासन गरिरहेका छन् । तिनै दुरदर्शी राजनेता बीपीको ३८ औं स्मृति दिवस साउन ६ गते हो भने पुष्पलालको ४३ औं दिवस साउन ७ गते हो । पञ्चायतकालमा नेपाली काँग्रेसले बीपी स्मृति दिवसका अवसरमा रचनात्मक कामहरु गर्दथ्र्यो । तर प्रजातन्त्र पुनर्वहालीपछि भने बीपी स्मृति दिवस कर्मकाण्डमै सिमित हुने गरेको छ । त्यस्तै गरेर हालको सत्तारुढ नेकपाले पनि पुष्पलालको आदर्श, दर्शनलाई त्यागी दलाल पुँजीवादी राजनीतिक व्यवस्था अवलम्वन गरी राज्यको दोहन गर्ने कार्य मै अगाडी बढेको छ । अन्य नेपालका सानातिना कम्युनिष्ट विचारक शक्तिहरुमा पनि पुष्पलालको राजनीतिक दर्शनको कमी छ । तैपनि सत्तारुढ नेकपा र अन्य कम्युनिष्ट शक्तिहरुले एकदिन भएपनि पुष्पलाललाई सम्झिने गरेका छन् ।
बीपी कोइराला नेपाली राजनीतिका प्रजातान्त्रिक योद्धा हुन् । उनी नेपाली काँग्रेसका सभापति हुन् । बीपीले संघर्षलाई सर्वोपरी ठाने । मुलुकको मुहार फेर्न उनले सशस्त्र क्रान्ति गरे । उदार लोकतान्त्रिक शासन प्रणाली, स्वतन्त्र र भय रहित समाजका खातिर थियो । उनले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गरेनन् समाजवादी अवधारणाको नीति बनाई अगाडी बढेका थिए । बीपीको विचार कहिल्यै जड रहेन । उनले आफ्नो विचारलाई समयानुकूल बदलेका पनि हुन् । त्यसै अनुरुप लोकतान्त्रिक आन्दोलनको स्वरुप र ढाँचामा पनि परिवर्तन गरेका थिए । हरेक मानिसलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्छ भन्ने मान्यता बोक्थे । बीपीको सपना थियो – एउटा सानो घर होस्, खान पुग्ने गरी जग्गा होस्, एउटा दूध खाने गाई, भैंसी होस्, कुनै पनि बच्चाबच्ची स्कुल जानबाट बन्चित नहोस र सवै नागरिकको स्वास्थ्य सेवाको पहुँच होस् । उनको आफ्नो शासनकालमा राष्ट्रिय योजना आयोगका प्रमुखलाई बोलाएर भन्ने गर्दथे, ‘तपाईहरुले आफ्नो कार्यकक्षमा राजा महाराजाको फोटो मात्र राख्ने होइन त्यहाँ हलो जोतिरहेको एक किसानको फोटो पनि राख्नु पर्छ अनि त्यहि किसानलाई हेरेर योजना बनाउनु पर्छ भन्थे ।’ नेपालको विकास भन्नु नै गाउँको विकास हो । गाउँको विकास नगरी देशको विकास हुदैन भन्नु हुन्थ्यो बीपी । तर आज नेपाली काँग्रेस बीपीको समाजवादी अवधारणलाई धोती लगाइदिएको छ । बीपीको समाजवाद एकादेशको कथामा परिणत भएको छ । नेपाली काँग्रेस सत्तामा होस्, प्रतिपक्षमा होस् उसको बाटो दलाल पूँजीवादी यात्रातिर छ । कसरी हुन्छ राज्यका स्रोत र साधनहरु साम्राज्यवादीहरुलाई सुम्पी उसले दिएको जुठो पुरोबाट एकैचोटी अरवौं खरवौं कमाउने गरेको छ । आफ्नो शासनसत्तामा हुँदाखेरी सार्वजनिक स्वामित्वमा रहेका दर्जनौं उद्योगहरुलाई कौंडीको भाउमा बेचेको इतिहास साक्षी छ ।
बीपी लोकतान्त्रिक र समाजवादी आन्दोलनमा मात्र सीमित रहेनन् राष्ट्रियताको पक्षमा पनि खरो रुपमा उत्रन्थे । राष्ट्रियता मुलुकको राष्ट्रिय संस्था र जनजीवनसँग जोडिएको विषय हो भन्ने उनको बुझाई थियो । बीपीले जहिल्यै पनि देशभक्ति पूर्ण राष्ट्रवादलाई जोड दिएको देखिन्छ । ‘राष्ट्रियताको चुरो नै छैन भने मैले के समात्ने? भन्ने बीपीको भनाइले यसलाई इंगित गर्छ । बीपीले राष्ट्रवादी शक्ति र यसका धरोहरलाई आत्मसात् गरेका थिए । हाम्रा भाषा, भेषभूषा, पहिचान, संस्कृति एवं सम्पदाहरु नै हाम्रो राष्ट्रियता हो भन्ने बीपीको बुझाई थियो । त्यो बुझाई अझ बढी सान्दर्भिक हुँदै गएको छ । बीपीले नेपालको राष्ट्रहित र स्वाभिमानलाई पार्टी, पद र प्रतिष्ठा भन्दा निकै माथि राखेका थिए । तर आज उनका अनुयायीहरु अर्थात नेपाली काँग्रेसका नेताहरु पार्टी, नीति र सिद्धान्त भन्दा पद, प्रतिष्ठालाई केन्द्रमा राखेर काम गरेका छन् ।
नेपाली राजनीतिका अर्का शिखर पुरुष कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता हुन् । उनी महान् अमर शहिद गंगालालका सहोदर भाई हुन् । पुष्पलाल नेपाली राजनीतिक इतिहासका एक राष्ट्रिय व्यक्तित्व हुन् । त्यतिमात्र होइन उनी शोषित, पीडित जनताका पक्षमा उभिने विचारक, सिद्धान्तकार र योजनाकार पनि हुन् । पुष्पलालले त्यतिबेलाको नेपाली समाजलाई राम्रोसँग चित्रण गरेका थिए । उनको प्रमुख उद्देश्य थियोः समाजको द्वन्दात्मक भौतिकवादी वैज्ञानिक दृष्टिकोणको आधारमा वर्गीय शोषण र जातीय उत्पीडनबाट नेपाली समाजको मुक्ति । पुष्पलालले जहिल्यै पनि तिन ‘स’ को विषयमा जोड दिन्थे ः सिद्धान्त, संगठन र संघर्ष । सिद्धान्त विना संगठन हुदैन, संगठन विना संघर्ष हुदैन भन्ने उहाँको बुझाई थियो ।
कमरेड पुष्पलाल अन्यन्त सादा विचार र सादा जीवनका प्रतिमूर्ति थिए । पार्टी प्रशिक्षण दिंदा उनले सदैव ‘जसले आफ्नो देशको इतिहास, संस्कृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको अग्रगामी तथा आमूल परिवर्तनका लागि कुनै सार्थक योगदान दिन सक्दैन’ भन्ने कुरा एकदमै प्रष्टसँग औल्याउदथे र सवै परिवर्तनकार्यलाई कम्तिमा पनि नेपाल र विश्वको अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, बेलायतको औद्योगिक क्रान्ति तथा विश्वमा चलिरहेका साम्रज्यवाद तथा उपनिवेशवाद विरोधी आन्दोलनहरुको ज्ञान, परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा जोड दिन्थे । पुष्पलाल जनतामाथि शोषण र अन्याय गर्ने व्यक्ति विरुद्ध निरन्तर संघर्षशील र कहिले नझुक्ने दृढता, परिवर्तप्रतिको दृढ संकल्प, उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो व्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता कार्यकर्ता पुष्पलाल प्रति सम्मान र आदरको दृष्टिले हेर्दथे र प्रभावित हुन्थे ।
राजनीतिक विश्लेषक कृष्ण खनालका शब्दलाई सापटी लिंदै भन्नु पर्दा बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रारम्भ समान उद्देश्य–निर्देशित थियो – राणाशासनको समाप्ति र लोकतान्त्रिक समाजको निर्माण । यद्यपि राणाशासन समाप्तिपछि राजनीति र लोकतन्त्रको बाटोका बारेमा दुवैमा मौलिक भिन्नता थिए । बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक–सामाजिक नीतीका पक्षमा थिए भने पुष्पलाल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । सिद्धान्ततः दुवै माक्र्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगत बाटो भिन्न थियो । झट्ट हेर्दा कहिल्यै नमिल्ने समानान्तर शत्रुगत जस्तो पनि लाग्छ । त्यस बेला काँग्रेस–कम्युनिष्ट द्वन्द्व तीव्र सैद्धान्तिक प्रतिद्वन्द्विता र तत्कालीन विश्व राजनीतिको स्वाभाविक प्रभाव थियो । तर निर्दलीय पञ्चायतको प्रभाव र दरबार–निर्देशित कांँग्रेस–विरोधबाट मुक्त थियो उनको राजनीति । त्यसैले राजाको निरंकुशता विरुद्धको आन्दोलनमा बीपी र पुष्पलालबीच कुनै सैद्धान्तिक वा पार्टीगत मतभिन्नता थिएन ।
अन्त्यमा आपूmलाई पुष्पलालका चेलाहरु सम्झने सत्तारुढ नेकपा मुलकमा कोभिड १९ सँगै वाढी, पहिरो र डुवानको कहरबाट आक्रान्त भइरहेको बेला सत्तामा संघर्षमा रुमल्लिएको छ । देश, जनता र राष्ट्रहित र गरिव, मजदुर, किसान र उत्पीडीत जातजातीको मुद्दाहरु उसले छोडिसकेको छ । उसले नेपाली कांँग्रेसले लिएको बुर्जुवा पुँजीवादलाई पनि उछिनीइ दलाल पुँजीवादको यात्रामा अघि बढेको छ भने नेपाली कांग्रेस पनि बीपीको आदर्श, सिद्धान्त र समाजवादको बाटोबाट चिप्लिसकेको छ । राजनीतिक, आर्थिक नीतिमा अहिले नेकपा र नेपाली कांँग्रेसको कुनै भिन्नता नभए जस्तो देखिएको छ । यी दुवै पार्टीहरुले बीपी र पुष्पलाल संझिनु भनेको बाहुनले श्राद्ध गर्दा विरालो बाधेर गरेजस्तो कर्मकाण्डी मात्र देखिएको छ । यी दुवै पार्टीहरुले बीपि र पुष्पलालको मार्गमा फर्काएनन् भने यो पार्टी इतिहासमा सीमित हुनेमा शंका छैन । तर यो पङ्तिकार उनीहरुले (नेकपा र नेपाली कांँग्रेस) आपूmलाई बीपी र पुष्पलालको मार्गमा फर्केलान् भन्नेकुरामा पटक्कै विश्वास गरेका छैनन् ।
(खरेल आमूल परिवर्तन मासिकका सम्पादक हुन् )
प्रकासित मिति २०७७–४–६
फेसबुकबाट तपाईको प्रतिक्रिया