बुढानिलिकण्ठमा वेरोजगारको नाम संकलन गर्दा एकजना मान्छे आएनन्

उद्धब खरेल, नगर प्रमुख
बुढानिलिकण्ठ नगरपालिका

१) बुढानिलिकण्ठ नगरपालिकालाई यहाँले कसरी चिनाउनुहुन्छ ?
नेपालको राजधानी काठमाण्डौको उत्तरतर्फ शिवपुरीको काँखमा विष्णुमती र रुद्रमतीको बीचमा दुइ नदीले सिचिंत उच्च भागमा भएको एउटा देशकै सुन्दर नगरपालिका हो यो ।
देशका उच्चपदस्थ, योग्य, क्षमतावान नागरिकहरु बस्ने, उत्तरतर्फ अत्यन्तै हरियाली प्राकृतिक वातावरणले सुसज्जीत भएको, दक्षिणतर्फ घना बस्ती रहेको नगरपालिका हो । स्वच्छ, शान्त, सम्बृद्ध, पर्यटकीय नगर बुढानिलिकण्ठ भन्ने स्लोगनले यस नगरपालिकाको परिचय र उदेश्य, अभियान सबै कुराको इंगित गर्दछ ।
२) यहाँले पदभार सम्हालेको ४–५ बर्षको दौरोनमा मुख्य रुपमा के कस्ता कामहरु गर्नुभयो त ?
५ ओटा कुरामा काम भएका छन् । सबैभन्दा पहिलो त शुसासन दिएका छौ । यहाँका मानिसलाई दैनिक सेवा प्रशासन छिटो छरितो र
सजिलोसँग सेवा प्रवाह गरेर जनतालाई सन्तुष्ट बनाउनु एउटा काम हो । त्यो गरेका छौ । त्यसैगरी हामीले भवन बनायौं, कार्यालय बनायौं, सबै कुरा सकेसम्म दिने कोसिस गरेका छौ । जनतालाई हामीले कहिल्यै दुख दिन हुदैन भन्ने पक्षमा छौ ।
त्यसैगरी पुर्वाधार विकास हाम्रो दोश्रो काम हुन् । बाटो, घाटो, पानी, खुल्ला क्षेत्र, पुलपुलेसा, खोला करिडोर निर्माण गर्ने आदि काम गरेका छौ ।
अर्को सामाजिक विकास हो । शिक्षा, स्वास्थ्य, मानवीय विकास, दलित, जनजाती, अल्पसंख्यक, विपन्न, महिला, जेष्ठ नागरिक, बालबालिकाहरुको हीतमा हामीले काम गरेका छौ । संम्पदाहरु संरक्षण गर्ने काम गरेका छौ ।
चौथो आर्थिक विकासको लागि हामीले काम गरेका छौ । यहाँका मानिसहरुलाई कसरी शुखी र सन्तुष्ट राख्न, कृषिको विकास, पशुपालन जे छ, उपलब्ध श्रोतका आधारमा त्यसको उच्च प्रविधि अनुसार उत्पादन बढाउने, सहकारीता बढाउने, पर्यटन प्रर्वद्धन गर्ने, पर्यटकीय गन्तब्यको क्षेत्र विस्तार गर्ने, पर्यटन पूर्वाधार बनाउने, पर्यटनमा आम्दानी बढाउने तथा रोजगारी सिर्जना गर्ने गरी हामीले काम गर्दै आएका छौ ।
पाँचौ भनेको वन तथा वातावरण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरेका छौ । नगरलाई सुन्दर बनाउने, सफा तथा सुग्गर नगर बनाउने र विपतबाट सुरक्षित राख्ने कुरामा हामीले प्राथमिकताका साथ काम गरेका छौ । माथी उल्लेखीत ५ ओटा कुराहरुमा केन्द्रित भएर हामीले योजना बनाउने र काम गर्ने गरेका छौ । अहिले हामीले ५ बर्षमा नगरपालिकाको आधारभुत कुराहरुको जग तयार भएको छ । सम्बृद्धिको जग तयार भएको छ । अब यसको गति बढ्ने छ । कोरोनाको कारण हामीले चाहेजति अझै गर्न सकेनौ । जनताले भनेजति पनि हामीले पुरा गर्न सकेका छैनौं । नराम्रो भने गरेका छैनौ, बेठिक गरेका छैनौं । भनेजति, खोजेजति, अपेक्षा गरेजति काम गर्न सकेका भने छैनौं ।
३) महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार अन्य नगरपालिकाहरुमा बेरुजु बढिरहेको देखिन्छ । तपाइको यस नगरपालिकाको अवस्था चाँही कस्तो छ ?
बुढानिलिकण्ठमा कसैले पनि तिर्नुपर्ने बेरुजु छैन । कसैको पनि हिनामिना गरेर, आर्थिक रुपमा, व्यक्तिगत रुपमा बेरुजु छैन । अब यो महालेखा परिक्षकको संस्था चाँही बेरुजु बढाउन पाउँदा खुशी हुन्छ जस्तो लाग्छ कहिले काँही । किनभने हामी जान्दैनौ, हाम्रो मेकानिजम अलिक कमजोर नै छ । धेरै कामहरुको जिम्मेवारी दिइएको, विधि अलिकति जटिल छ । जनताको माग छिटो छरितो गर्नुपर्ने खालको हुन्छ । विधिको नाममा काम नगर्ने र ठिलासुस्ती गरेर मान्छेलाई दुख दिने प्रवृत्तिबाट सहज बनाउनका लागि केही–केही काम फाष्ट ट्रर्याकबाट गर्दा केही कुराहरु नीतिगत बेरुजु भनेर लेखेको छ । नीतिगत बेरुजु भनेर सुझाव मात्रै लेख्नुपर्नेमा अंकै लेखेको रहेछ । ७३ लाखको बालुवा हामीले किन्यौ, वालुवा ठाउँ ठाउँमा जनताले झिकेका वालुवा । वालुवा नभइ यो देशमा विकास त हुदैन । कहिँकहिँबाट बर्खामासमा बगाउने बालुवाहरुलाई यो रिर्जभ गरेर, जनताहरुले झिकेका बालुवालाई एउटा खालको मुल्याङकन गरेर विक्री गर्न दिऔं । यो विक्री गरेका वालुवा आइए नगरीकन तैले वालवा किन बेचिस भनेर बेरुजु देखाइएको छ । त्यस्तो बेरुजु पनि बेरुजु हुन्छ त ? त्यो बेरुजु होइन । हामीले एउटा पनि बेरुजु गरेका छैनौ । केही केही काम गर्ने शिलशिलामा केही कमी कमजोरी भएको र सुधार गर्नुपर्ने भएको छ । त्यो सबै सच्याउनु, पुरा गर्नेमा हामी प्रतिबद्ध छौ । तीन दिन आएर हेर्छ बेरुजु देखाएर जान्छ । हाम्रा कर्मचारीहरुले पनि त्यसलाई स्पष्ट बताउन नसक्ने, कर्मचारी परिवर्तन भइरहने कारणले बेरुजु थोरै देखिएको छ । तर हामी दावाका साथ भन्छौ हामीले एउटा पनि वेइमान गरेका छैनौं । वेइमान गरेका भए कार्वाही गरुन् ।
४) यस नगरको पूँजीगत खर्च र राजस्व आम्दानीको अवस्था कस्तो छ ?
आन्तरिक आम्दानीले सम्पूर्ण खर्च धान्छ हाम्रो । त्यसपछी सरकारले दिएको, अलिकति मालपोतबाट उठेको पैसाले विकास निर्माण गर्छौ ।
अर्को पुँजीगत खर्च शत प्रतिसत केही गरेपनि नहुने कुरा हो । नेपाल सरकारको त पुँजीगत खर्च कहिल्यै पुरा भएको छैन । त्यसकारण बुढानिलिकण्ठ नगरपालिकामा कोरोनाको कारणले दूइ तिन पटक लकडान गर्नु परेपछि पँुजीगत खर्च शतप्रतिशत पुर्याउन सम्भव भएन । झण्डै ६० प्रतिशत हाराहारी पूँजीगत खर्च भएको छ । गर्दै पनि छौ । भटाभट विकास निर्माणका कामहरु भएका छन् । छुट्याइएका योजनाहरुमा कामहरु भइरहेका छन् ।
५) अन्त्यमा, वेरोजगारी समस्या सबै नगरपालिकाहरुको साझा समस्या जस्तो देखिएका छन् । यस नगरपालिकाले बेरोजगारी घटाउन र उद्यमशीलता बढाउन के कस्ता गतिविधिहरु अघि बढाएको छ ?
थुप्रै मान्छेहरुलाई रोजगारी वढाउन, उद्यमशीलतामा लाग्न आह्वान गरेका छौ । उनीहरुलाई सघाएका छौ । तालिम दिने, उत्प्रेरणा जगाउने, सघाउने जस्ता कामहरु हामीले गर्दै आएका छौ । तालिम भन्छौ, तर काठमाण्डौको यो शरहमा श्रम गर्न नपाएर खान नपाउने अवस्था छँदैछैन । यहाँ टेबुलमा बसेर काम गर्न पाए हुन्थ्यो भन्नेहरुको जमात धेरै छ । अथवा भनांै भएको भनिएको वेरोजगारी शैक्षिक बेरोजगारी हो । श्रम गर्न चाहनेहरुका लागि कामको यहाँ खाँचो छैन । अहिले एक हजार रुपैयाँ त ज्यामी काम गर्दाखेरी जहाँ पनि पाइन्छ । त्यसकारण यहाँ शिक्षित वेरोजगारी अलिकति बढी हो । अरु खालको बेरोजगारी यहाँ छैन । लेबर नपाएर यहाँ त अरु देशबाट आएर काम गर्नेहरु धेरै छन् । वेरोजगरको नाम संकलन गर्दाखेरी यहाँ मान्छे आएनन् । तर टेबुलमा बसेर काम गर्न पढेकाहरु सजिलो खालको जागिर खोज्नेहरुलाई रोजगारी सिर्जना गर्न नसकिएको हो । प्रयत्न जारी छ ।
प्रस्तुती : रिसब गौतम
प्रकासित मिति २०७८–८–१४

फेसबुकबाट तपाईको प्रतिक्रिया