बेलायती बेरोजगारी दर ४२ वर्षकै न्यून

लण्डन (बेलायत) ३० असार  ।

बेलायतको बेरोजगारी दर घटेर ४२ वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जारी गरेको तथ्याङ्कअनुसार मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घटेर साढे ४ प्रतिशतमा झरेको छ । यो सन् १९७५ यताकै न्यून हो । अघिल्लो त्रैमासको तुलनामा सो अवधिमा बेरोजगारी दर शून्य दशमलव २ प्रतिशतले घटेको थियो । मेसम्मको तीन महीनामा बेरोजगारी सङ्ख्या ६४ हजारले घटी १४ लाख ९० हजारमा आएको छ । सो अवधिमा १६ वर्षदेखि ६४ वर्ष उमेरका काम गर्ने समूहको रोजगारीदर ७४ दशमलव ९ प्रतिशत रहेको छ । यो सन् १९७१ यताकै उच्च हो । यद्यपि, अन्य तथ्याङ्कले भने अर्थतन्त्र सुस्ताइरहेको सङ्केत गरेको छ । पहिलो त्रैमासमा बेलायतको अर्थतन्त्र अघिल्लो त्रैमासको तुलनामा शून्य दशमलव २ प्रतिशतले मात्रै बढेको थियो । यो जी सेभेन अर्थतन्त्रमै सबैभन्दा थोरै हो । बुधवार मात्रै क्रेडिट रेटिङ एजेन्सी मूडिजले यूरोपको एकल बजारमा व्यापार पहुँच प्राप्त गर्ने सम्झौता नभएमा बेलायतको आर्थिक वृद्धिको सम्भावना निकै कमजोर रहने चेतावनी दिएको थियो । उता, स्ट्याण्डर्ड पुअर्सले पनि मङ्गलवार यस्तै खाले मूल्याङ्कन गरेको थियो । रासस/एपी

फेसबुकबाट तपाईको प्रतिक्रिया