भाइरल ज्वरोका बिरामी बढे

 बैतडी ३२ श्रावण
  लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढेका हुन्।
जिल्ला अस्पताल बैतडीमा आजभोलि दिनहुँजसो सयभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डा. विदुर भण्डारीले जानकारी दिए।
विगतको भन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ। बर्खायाममा पानीका मुहानमा फोहोर पानी मिसिने भएकाले खानेपानीबाट बढी रोग फैलिने गरेको डा. भण्डारीले बताए।
पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि दिनहुँ ६० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको डा. शशी कँडेलले जानकारी दिए। ‘मौसम परिवर्तन भएसँगै भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो,’ उनले भने।
पाटन नगरपालिका र आसपासका गाविसका बिरामी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेको उनले बताए। मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आजभोलि दैनिक ८० जना भाइरल ज्वरोका बिरामी आउने गरेका अनमी मीना अधिकारीले जानकारी दिए।
भाइरल ज्वरो भएका बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुरा खानुपर्ने र सरसफाइमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया