भारतको दिल्लीमा विधानसभा मतदान
काठमाडौं २३ माघ २०८१ । भारतको राजधानी दिल्लीमा बुधबार विधानसभा निर्वाचन भएको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ । केजरीवाल एक दशकअघि भ्रष्टाचार विरोधी अभियानकर्ताका रूपमा सत्तामा आएका थिए । राजधानीका लाखौँ गरिब बासिन्दालाई पानी र बिजुली अनुदान दिएपछि आपको लोकप्रियता बढेको छ ।
उनको उदयले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिइरहेको छ भने केजरीवाललाई मोदीको प्रमुख प्रतिद्वन्द्वीहरू मध्ये एकको भूमिका प्रदान गरेको छ । विधानसभा निर्वाचनमा पनि प्रमुख प्रतिष्पर्धा यी दुईदलबीच नै हुने छ ।
शनिबार नतिजा घोषणा गरिने छ । दिल्लीको सबै ७० विधानसभा सिटहरूमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो । मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवारहरू मैदानमा छन् । दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो । २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया