भारतमा इक्विटी र ऋणपत्र विक्री बढ्यो

नयाँ दिल्ली २१ असार ।

सन् २०१७ को पहिलो अर्धवार्षिक अवधिमा भारतमा इक्विटी तथा ऋणपत्र विक्रीमा वृद्घि भएको अन्तरराष्ट्रिय समाचार संस्था थोमसन रोयटर्सले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । भारतीय अर्थतन्त्रमा सुधार आउने अपेक्षा र प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक सुधारका नयाँ प्याकेज थप गरेका कारण बजार सकारात्मक बनेको हो । जनवरी–जुन अवधिमा भारतीय कम्पनीले विक्री गरेको इक्विटी गत वर्षको सोही अवधिको तुलनामा १ सय २७ दशमलव ८ प्रतिशतले बढेर १० अर्ब डलरमा उक्लिएको छ । त्यस्तै प्रारम्भिक शेयर निष्कासन (आइपीओ) बाट कम्पनीहरूले उठाएको रकम १ सय १६ दशमलव ३ प्रतिशतले बढेर २ अर्ब ६० करोड डलरमा पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, सेकेण्डरी शेयर विक्री पनि १ सय ५४ दशमलव ३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड डलरमा पुगेको बताइएको छ । अर्थतन्त्रप्रतिको परिदृश्यमा आएको सुधारका कारण नै शेयर बजारमा प्रगति देखिएको विश्लेषण गरिएको हो । पहिलो ६ महीनामा ऋणपत्र बजार पनि उकालो लागेको पाइएको छ । सो अवधिमा रुपैयाँमा आधारित ऋणपत्रको विक्री ३७ दशमलव २ प्रतिशतले बढेर ३० अर्ब ८४ करोड डलरमा पुगेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया