भारतीय राष्ट्रपतिको भ्रमणबाट सम्बन्धमा न्यानोपन र व्यापकता आउने विश्वास

काठमाडौँ १७ कार्तिक

अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने देखिएको छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको अघिल्लो दिन रासससँग कुरा गर्दै विभिन्न पार्टी नेता एवम् पूर्व परराष्ट्रमन्त्रीहरुले दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धमा न्यानोपन र व्यापकता बढ्ने बताएका छन्।

राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो। सरकार–सरकार र जनता–जनताबीचको बहुआयामिक र ऐतिहासिक सम्बन्ध रहेको नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका बीचमा बेलाबखत देखापर्ने उतार चढावलाई न्यूनीकरण गरी आपसी विश्वास समेत बढाउने उनीहरुको धारणा छ।

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले छिमेकी देशको राष्ट्राध्यक्षको यस भ्रमणले आपसी सम्बन्धमा न्यानोपन ल्याउने बताए। उनले भने -नेपालले संयुक्त राष्ट्र सङ्घको वडापत्रअनुरुप यस भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ। नेता रावलले भ्रमणको तयारीबारे सरकारले आफूहरुसँग परामर्श नगरेको र भारतीय राष्ट्रपति आउने दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको विषयमा भने आलोचना गरे।

नेकपा (माओवादी केन्द्र)  नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै भ्रमण कार्यकारी प्रकारको नभएकाले दुई देशबीचका ठोस समस्याको समाधानतर्फभन्दा पनि आपसी सम्बन्ध राम्रो बनाउने वातावरण सिर्जनामा केन्द्रित हुने अपेक्षा व्यक्त गरे।

नेपाली काँग्रेसका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले यसको कहाँ कति सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा नेपालले सोच्नुपर्ने जनाउँदै आपसी सम्बन्ध र आर्थिक विकासका दृष्टिले भ्रमणले सानिध्यता बढाउने धारणा राखे। केसीले भने -नेपालको राष्ट्रिय हित र स्वाभिमानका साथै सम्बन्ध सुदृढ बनाउने गरी यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्ला समयमा नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको र भ्रमणले थप सद्भाव बढाउने प्रतिक्रिया दिए। सामाजिक, आर्थिक र धार्मिकरुपमा पनि भ्रमणको महत्व रहेकाले यसबाट सम्बन्धमा घनिष्टता बढ्ने उनको भनाइ छ। यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया