भाषा र म

–वैरागी जेठा
उफ्रेर कराएँ
गणेशमानको शालिक अगाडि
भाषा बचाऔँ
काले करायो पागलझैँ
खियालागेका बंगरा देखाउँदै
रत्नपार्कमा

धर्ती पुत्र खोज्दै
भाषा भनिरहेँ
काले पागल
झर्किएर हान्यो

ग्वाल्र्याम्मै ढलेँ
आगोझैँ घामले पोलिएर
मकैको घोगा बनिरहेँ
धर्तीका पुत्रहरू
कहीँ कतै थिएनन्
ए मानिस् !
तेरो नाथे पलास्टिकको टेबुल फुट्दैमा
हुरीझैँ किन झम्टिन्छस्
घाम मूर्दा भएर हेरिरहेथ्यो
गुजुजु म पाकीरहेँ थेँ
मानिस् नैतिक शिक्षा बिर्सिरहेथ्यो
मलाई अपमान गर्दा
हिमाल चुमेझैँ गर्छ
ऊ बबृराइरहेछ
मेरो छातीमा टेकेर
म सम्झन्छु युगहरू
हृदयमा पोलिरहन्छ
मेरो आत्मा खोपेर
तरुलताहरूको आँसु पिएर

गर्व गर्छ
मान्छेहरूको भिडमा
पर्चाहरूले बेर्छ
मलाई ,फ्याल्छ पुलमुनि
चिराँक घोच्छ
मेरो ढाडमा
कोहोस् तँ ए ?
पुलिस लगाएर जेल हाल्छु भन्छ
सडको बीचमा उभिएर
बिषझैँ गनाउँ छ ऊ
मडारिन्छन् बादलहरू
गुनगुन गर्छन्
पैदलयात्रीहरू
आँखा भरी कठै
तरर तरर झरिरहे
आँसुका भेल
भाषा बगाउँछ
म चुपचाप
कुकुल्ढुमा पौडि खेलेर
जीवनको गीतगाउँछु
सारङ्गी रेट्नेहरू
छैनन्
झलकमान्हरू छैनन्
पीडाका मलम लगाउँने समयमा
साहूलाई
टेबीलको पैसा तिर्न नसकेर
छानामाथिबाट हम्फालिरहेछु
आजको युगमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया